समाचार

कोभिड–१९ नियन्त्रणका लागि व्यवसायीद्वारा सरकारलाई स्वास्थ्य सामग्री

३२ जेठ, काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारलाई कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीको नेतृत्वमा आज सिंहदरबार पुगेको टोलीले गृहमन्त्री रामबहादुर थापालाई पिपिई, थर्मल गन, चश्मा र सुज कभर ५०–५० थान, एन ९५ मास्क एक हजार थान, सर्जिकल मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

सो अवसरमा गृहमन्त्री थापाले व्यवसायीका समस्या समाधानका लागि सहजीकरण गरिने आश्वासन दिए। महासंघका उपाध्यक्ष कार्कीले चीनबाट आएको ठूलो परिमाणका सामग्री डिसेम्बरदेखि केरुङ नाकामा अड्किँदा व्यवसायी समस्यामा परेकाले समाधानका लागि पहल गर्न आग्रह गरे । उनले केरुङ जानका लागि व्यापारीलाई पास नदिइएका कारण समेत समस्या भएको मन्त्री थापालाई जानकारी गराएका थिए ।
“बन्दाबन्दीका कारण व्यवसायीलाई घरभाडा, बैंकको ब्याज र राज्यलाई तिर्नुपर्ने कर तिर्न समस्या परेको छ, लामो समय व्यवसाय सञ्चालन हुन पाएन”, महासचिव अञ्जन शाक्यले भने, “हाम्रा यावत् समस्या हुँदाहुँदै पनि राज्यको समस्यालाई समाधान गर्न हामीले थोरै सहयोग गरेका हौँ ।”