समाचार

बीमकलाई लिखित जानकारी दिन समितिको निर्देशन

३२ जेठ, काठमाडौँ । बीमा समितिले मोटर बीमाको हकमा यसअघि लागू भएको बन्दाबन्दीको अवधिलाई दृष्टिगत गरी बीमकलाई लिखित रुपमा पूर्वसूचना दिन आग्रह गरेको छ । समितिले निर्जीवन बीमा कम्पनीलाई आज मोटर बीमाको दर निर्देशिकाका बारेमा जानकारी दिँदै गत चैत ११ गतेदेखि लागू भएको लकडाउनको घोषणा गरिएको अवस्थालाई दृष्टिगत गरी गत जेठ ६ गते जारी भएको परिपत्रबमोजिम थन्किएको अवधिका बारेमा बीमकलाई पूर्वसूचना दिन भनेको हो ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार सोमबारदेखि लकडाउनको ढाँचा परिवर्तन हुने निर्णय भएकाले ‘मोटर बीमा दरसम्बन्धी निर्देशिका, २०७३’ बमोजिम बीमकलाई पूर्वसूचना दिनुपर्ने व्यवस्था गरिएको हो । समितिले बीमकलार्ई लिखित रुपमा पूर्वसूचना दिई सोहीअनुसार गर्न÷गराउनु हुन निर्देशन दिएको छ ।

घुस लिएको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय लेखनाथ, कास्कीका नायब सुब्बा दीपक सुवेदीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीको नाममा दर्ता रहेको जग्गा रोक्का गर्ने कार्य सहजीकरण गरिदिने भन्दै नायब सुब्बा सुवेदीले सेवाग्राहीसँग तीन हजार घुस लिएको पाइएको आयोगले जनाएको छ ।

बैंकबाट कर्जा निकालिदिने प्रयोजनार्थ जग्गा रोक्का गराउन पुगेका सेवाग्राहीलाई अनेक बहाना बनाएर घुस माग्दै गरेको अवस्थामा आयोगले केही समय पहिले उहाँलाई पक्राउ गरेको थियो । आरोपी सुवेदीलाई बिगो अनुसारको कारवाही र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।