समाचार

क्वारेन्टिन व्यवस्थापन गर्न सामग्री प्रदान, पाँचजनाले जिते कोरोना

३२ जेठ, नवलपुर । जिल्लाको पहाडी बौँदीकाली र बुलिङटार गाउँपालिकालाई क्वारेन्टिन व्यवस्थापनका दुई लाख सात हजारबराबरको सामग्री प्रदान गरेका छन् ।

नवलपरासी समाज जापानले एक लाख तथा नवलपुर समाज जापानले एक लाख सात हजारबराबरको सामग्री उपलब्ध गराएको हो । दुवै संस्थाले पठाएको रकमबाट गण्डकी प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेले स्वास्थ्य सामग्री खरिद गरी शनिबार ती दुई गाउँपालिकाका जनप्रतिनिधिलाई हस्तान्तरण गर्नुभएको थियो । ती संस्थाले पठाएको रकमबाट ४०० थान झुल, ४०० थान बेड कभर, १६० थान ब्लाङ्केट, चार रोल पिफर्म म्याट खरिद गरिएको थियो ।

त्यस्तै, काठमाडौँको करुणा फाउण्डेशन र क्रियशन पोसिबिलिटी नामक संस्थाले उपलब्ध गराएको २४ थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिई), १६ वटा थर्मल गन, ४०० थान एन–९५ मास्क, १० लिटर ह्याण्ड सेनिटाइजरसमेत प्रलेशसभा सदस्य लामिछानेले बुलिङटार गाउँपालिकाका अध्यक्ष शशीकिरण बास्ताकोटी र बौँदीकाली गाउँपालिका उपाध्यक्ष मायादेवी श्रेष्ठलाई प्रदान गरेका थिए।

बुलिङटार गाउँपालिका अध्यक्ष शशीकिरण बास्ताकोटीले स्रोत साधनको अभाव, यातायातको असुविधा, स्वास्थ्य परीक्षणका लागि नजिक अस्पताल नहुनु, स्वाब परीक्षण नतिजा ढिला आउनु तथा आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि नजिक बजारको अभावलगायत विभिन्न समस्या झेल्नुपरेको गुनासो गरे ।

पाँचजनाले कोरोनालाई जिते

जिल्लाका कोरोना सङ्क्रमितमध्ये पाँचजनाले रोगलाई जितेर घर फर्किएका छन् । मध्यबिन्दु जिल्ला अस्पताल डण्डाको आइसोलेशन कक्षमा उपचाररत कावासोतीका एक युवक आज बिहान डिस्चार्ज भएसँगै सङ्क्रमितमध्ये जिल्लाका पाँचजना कोरोनामुक्त भएका जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

यसअघि देवचुली नगरपालिका माइत भएकी महिला काठमाडौँबाट, देवचुलीका दुई पुरुष तथा विनयी त्रिवेणी गाउँपालिकाका एकजना पुरुष चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालबाट कोरोनामुक्त भएर घर फर्किसकेका छन् । विभिन्न स्थानबाट जिल्लाका कोरोना सङ्क्रमणबाट मुक्त भएका व्यक्तिको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए।

त्यसैगरी, नवलपुरमा हालसम्म ४५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । आज बिहान देवचुली नगरपालिकाका दुईजना युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या ४५ पुगेको हो । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख चापागाईंका अनुसार कोराना पुष्टि भएकामध्ये ६ जनाको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पताल तथा अन्यको नवलपुरको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय, मध्यबिन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।