साहित्य

जङ्गलको कथा

                                        -डा सुरेन्द्र सिटौला                                    -कविता

मैले देखें
कति सत्य देखें
कति असत्य देखे
सत्य र असत्यको द्वन्द्वमा
कौरबहरुको हार हुँदा
निर्बिकल्प सत्यको गीता लेखें
गीता लीख्दै गर्दा
सत्यको कारुणिक ब्यथा देखें
ब्यथै ब्यथाले घाइते सत्य
बर्तमानमा
एउटा सुन्दर जङ्गलको
आत्म कथामा भेटें
ब्यथाको सत्यमा लुकेको
जङ्गलको एउटा कथा लेखें

जङ्गलमा सिंह हराए पछि
ब्वासाहरुको बढाइ देखे
सिंहको छाला माथी
स्यालको रजाइ देखें
फ्याउरा हरुको आपसी कुस्ती बिच
आहारा खोस्ने प्रतिस्पर्धामा
चील र गिद्दको लडाइ देखें
सान हराएको
सुन्दर जङ्गलमा बसेर
मान हराएको
उसैको कथा लेखें

जङ्गल भित्र हैकम गर्ने
हुडार र स्याल हरुको
जङ्गलको परिधी सँग
कुनै सरोकार थिएन
शिकार खोस्ने प्रतिस्पर्धा बाहेक
अन्य कुनै रोजगार थिएन
परिधी हराउनु सँग उनीहरुको
कुनै अवरोध थिएन
छिमेकी जङ्गल बाटै
पेट भरिए पछि
उनीहरु बाट कुनै बिरोध भएन

स्तब्ध जङ्गल !
हराएको पुरानो गरिमा
इतिहास सग सोध्दै थियो
परिधिको प्रमाण जुटाउन
हराएको तमासुक खोज्दै थियो

जङ्गलको आत्म कथामा
थोरै सत्य देखें
धेरै असत्य देखेंं
असत्य सग सत्य हारेको
जङ्गलको कथा
जस्तो देखे त्यस्तै लेखें ।