समाचार

क्वारेन्टिनमा बसेका मृतकको पिसिआर रिपोर्ट नेगेटिभ

३१ जेठ, कञ्चनपुर । क्वारेन्टिनमा बिरामी भई उपचारका लागि बुटवलमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएका माण्डवी गाउँपालिका वडा नं ४ आपचौरका १८ वर्षीय पुरुषको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

मृतक पुरुषको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परीक्षण गर्दा पिसिआर रिपोर्ट नेगेटिभ आएको माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुवकुमार पोख्रेलले बताए ।

उनलाई श्वास फेर्न समस्या आएपछि शुक्रबार राति एम्बुलेन्समा उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । घोराहीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बुटवल लैजाँदै गर्दा आज बिहान बाटोमै उनको मृत्यु भएको थियो । जेठ २१ गते सङ्कलन गरिएको स्वाब परीक्षणमा आज पिसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

क्वारेन्टिनमा मृतकसँगै बसेका १३१ को पिसिआरका लागि स्वाब सङ्कलन गरी पठाइएको थियो । यसमध्ये ५२ को रिपोर्ट आज आए पनि मृतक पुरुषको मृत्यु पछिमात्रै पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । रिपोर्ट नेगेटिभ आएपछि मृतक पुरुषको माण्डवी गाउँपालिका वडा नं ४ आँपचौरमा स्काभेटरको सहायताले खाडलमा शव व्यवस्थापन गर्न थालिएको स्वास्थ्य प्रमुख पोख्रेलले बताए ।