कृषि

युरिया र डिएपी मल अभावले किसान समस्यामा

३१ जेठ, धनगढी । धानखेती गर्ने समयमा देखिएको रासायनिक मल अभावले किसान समस्यामा परेपछि यहाँका कृषि सहकारी संस्थाले मल आपूर्तिको पहल थालेका छन् ।

सरकारी अनुदानको रसायनिक मल बिक्री वितरणको जिम्मेवारी पाएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टेडिङ कर्पोरेशन लिमिटेडको धनगढीस्थित गोदाममा मल मौज्दात सकिएपछि कृषि सहकारी संस्था आर्फँले अनुदानको मल आपूर्तिको पहल गरेका हुन् ।

कोभिड–१९को समस्यासँगै जारी बन्दाबन्दीका कारण भैरहवास्थित कृषि सामग्री कम्पनीको कार्यालयबाट मल ढुवानी गरी ल्याउन असज हुँदा समयमै पर्याप्त परिमाणको मल आपूर्ति गर्न नसकिएको कृषि सामग्री कम्पनीको धनगढीस्थित कार्यालयका प्रमुख नवलसिंह बोगटीले बताए । मल अभावसँगै किसान समस्या पर्न थालेपछि मलको आपूर्ति गर्न चाहने सहकारी संस्थालाई कार्यालयले कृषि सामग्रीको भैरहवास्थित कार्यालयलाई सिफारिसपत्र बनाइदिन थालेको छ ।

“मल ढुवानी गर्ने जिम्मा लिएको ठेकेदारले बन्दाबन्दीका कारण मल ढुवानी गरी ल्याउन नसकेकाले कार्यालयमा पर्याप्त मल आउन सकेन, प्रमुख बोगटीले भन्नुभयो, अहिले कृषि सहकारी संस्था आफैँले मल ल्याउने भनेपछि ६०० मेट्रिक टनका लागि सिफारिस गरी पठाएका छौँ ।”

कृषि सहकारी संस्था कैलालीका भोजराज भट्टले धानखेती गर्ने समयमा मल अभाव भई किसान समस्यामा परेकाले सहकारी संस्था आफैँले मल आपूर्तिको पहल गरेको बताए । कृषि सामग्री र साल्ट ट्रेडिङले सहकारी संस्थामार्फत किसानलाई अनुदानको रासायनिक मल उपलब्ध गराउँदै आएको छ । मल अभाव भएपछि खेती कसरी गर्ने भन्ने समस्या आएको कैलालीका किसान वीरबहादुर चौधरीले बताए ।

“एकतिर कोरोनाको डर र अर्कोतिर मल नहुँदा खेती कसरी गर्ने भन्ने समस्या आइलागेको छ, धनगढी उपमहानगरपालिका–१३ का किसान चौधरीले भने, “मल प्रयोग नगरौँ भने धान उत्पादन घट्ने डर लागेको छ ।” मल मौज्दात सकिएपछि कृषि सामग्रीले थप सात हजार मेट्रिक टन र साल्ट ट्रेडङले थप पाँच हजार मेट्रिक टन मल आपूर्तिको पहल पनि गरेको छ । तर तत्काल मल आउने सम्भावना नदेखिएको भन्दै कृषि सहकारी संस्थाहरु मल आपूर्तिका लागि आफैँ अग्रसर भएका हुन् ।

साल्ट टेडिङ कर्पोरेशनको यहाँस्थित कार्यालयले चालू वर्षमा तोकिएको कोटाअनुसार युरिया र डिएपी मल पहिले नै बिक्री गरिसकेको छ । कार्यालयका नायब महाप्रबन्धक केशवप्रसाद पाण्डेले चालू वर्षमा तोकिएको कोटाअनुसारको १० हजार १३० मेट्रिक टन रासायनिक मल बिक्री वितरण गरिसकिएकामा अहिले अभाव देखिँदा थप मल मगाइएको बताए ।

सरकारले अनुदानमा खरिद गर्नेमध्ये ७० प्रतिशत परिमाणको मल कृषि सामग्रीले र बाँकी ३० प्रतिशत परिमाणको मल साल्ट ट्रेडिङले बिक्री वितरण गर्दै आएको जनाइएको छ । कर्पोरेशनले अनुदानको डिएपी मलको विकल्पमा गैरअनुदानित सिङ्गल सुपर फस्पेट (एसएसपी) मल पनि बिक्री गर्दै आएको छ । तर यो मल महङ्गो पर्ने गरेको किसानको भनाइ छ ।

सयममै पर्याप्त मलको आपूर्तिका लागि उचित व्यवस्थापन हुन नसक्दा खेती गर्ने समयमा वर्षेनी सुदूरपश्चिम प्रदेशका किसानले मलको अभाव झेल्दै आएका छन् । यहाँस्थित कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालयले चालू आवको गत साउनदेखि जेठ २२ गतेसम्म युरिया आठ हजार १८६ मेट्रिक टन र डिएपी पाँच हजार ५७२ मेट्रिक टन सहकारी संस्थालाई बिक्री गरिसकेको छ । गत आवको यसै अवधिमा कार्यालयले युरिया छ हजार ७५८ मेट्रिक टन र डिएपी चार हजार ६०७ मेट्रिक टन बिक्री गरेको थियो । कार्यालयले कञ्चनपुर र डोटी जिल्लाबाहेकका प्रदेशका अन्य सबै जिल्लामा मल आपूर्ति गर्दै आएको छ ।

कृषि सामग्रीको कार्यालय भीमदत्तनगरले कञ्चनपुर र डोटी जिल्लामा यो मल आपूर्ति गर्दै आएको छ । प्रदेशमा वर्षेनी रासायनिक मलको खपत बढ्दै गएको जनाइएको छ । सरकारले विदेशवाट मल खरिद गरेर किसानलाई बिक्री गर्दा खरिदभन्दा कम मूल्य (अनुदानित मूल्य) मा उपलब्ध गराउने गरेको छ । किसानलाई अनुदानित मूल्यमा मल उपलब्ध गराउने सरकारको नीति भए पनि दिइएको अनुदान मूल्यभन्दा महङ्गोमा मल खरिद गर्नुपरेको कतिपय किसानको गुनासो छ ।

मलको ढुवानी र लोड–अनलोड गर्दा लाग्ने खर्चअनुसार मलको मूल्य पनि ठाउँअनुसार फरक–फरक हुने गरेको छ । कृषि सहकारीमार्फत यो मल बिक्री वितरणको व्यवस्था गर्दा कतिपय क्षेत्रमा यो मल महङ्गो पर्ने गरेको गुनासो किसानको छ । सहकारीले मल किसानलाई बिक्री गर्दा मलको ढुवानी र लोडअनलोड गर्दा लाग्ने खर्च र केही प्रशासनिक खर्चसमेत जोडेर बिक्री गर्न पाउने मापदण्ड बनाइएको छ । तर, कुन ठाउँको सहकारीले कति मूल्यमा मल बिक्री गरिरहेका छन् भन्नेमा अनुगमन हुनसकेको छैन ।

लहान– धान रोपाइँ हुनै लाग्दा सिरहामा यतिबेला युरिया र डिएपी (रासायनिक मल) को चरम आभाव भएको छ । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल नआउँदा सिरहामा युरिया र डिएपी मल आभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड लहानले जनाएको छ ।

धान रोपाइँ गर्ने बेला भएकाले मलखादको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा युरिया र डिएपी मल आभाव भएको कृषि सामग्री कम्पनी लहानका प्रमुख कमल पोखरेलले जानकारी दिए । उनका अनुसार सिरहामा तत्कालै तीन हजार बोरा डिएपी र त्यति नै परिमाणमा युरिया मल चाहिएकामा हाल कृषि सामग्रीको गोदाममा एक बोरा पनि मल छैन । गोदाम नै खाली भएपछि दैनिक मलका लागि आउने किसानलाई रित्तो हात फर्काउने गरेकोे प्रमुख पोखरेलको भनाइ छ ।

किसान रासायनिक मल खरिद गर्न दैनिक सहकारी संस्थामा आउने गरे पनि मल नपाएपछि निरास भएर फर्कने गरेका छन् । अहिले मानो रोपेर मुरी उत्पादन गर्ने समयमा मल नपाइए धान रोपाइँ प्रभावित हुनुका साथै उत्पादनसमेत घट्ने किसानको भनाइ छ ।

“धानको बेर्ना लगाएदेखि नै अर्थात् जेठको पहिलो सातादेखि नै किसानलाई मलखादको आवश्यकता पर्छ, तर जेठ बित्नै लाग्दासमेत अझै मलखाद पाउन सकेका छैनौँ”, सिरहाको धनगढीमाई नगरपालिका–५ का किसान प्रदीपकुमारसिंह दनुवारले भने, “पटक–पटक मलका लागि कार्यालयदेखि सहकारी संस्थासम्म धाउँदै आएँ तर अझै मल पाउन सकिनँ”, मल नपाएपछि समस्यामा परेको उनको गुनासो छ ।

गोदाममा भएको ४८४ मेट्रिक टन डिएपी र २६९ मेट्रिक टन युरिया गत जेठ १८ गतेदेखि २२ गतेसम्ममा बिक्री गरेकोे र अहिले मलखादको मौज्दात शून्य भएको प्रमुख पोखरेलले बताए । तत्काल चाहिने युरिया र डिएपी तीन–तीन हजार मेट्रिक टन उपलब्ध गराइदिनका लागि मन्त्रालयलाई पत्राचार गरे पनि अझै मल आउने वा नआउने भन्ने अन्योल रहेको प्रमुख पोखरेलको भनाइ छ ।

यस्तै लहानस्थित साल्ट ट्रेडिङ कम्पनीमा पनि युरिया र डिएपीको अभाव भएको जनाएको छ । सरकारी अनुदानको डिएपी र युरिया मल वितरणको जिम्मा सिरहामा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीले पाएका छन् । डिएपी मल रोपाइँ गरेकै दिन हाल्नुपर्ने भए पनि आभाव हँुदा किसान मारमा परेका छन् ।