प्रदेश 1

प्रदेशलाई कोभिड–१९ बाट मुक्त बनाइन्छः मन्त्री घिमिरे

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशलाई चाँडै कोभिड–१९ बाट मुक्त बनाइने बताउनुभएको छ । प्रदेश नं १ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला कमिटीका अध्यक्ष र सचिवसँग आज अनलाइन संवादमा उनले सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारीरूपमा काम गरिरहेकाले आगामी चार महिनाभित्रमा कोरोनामुक्त बनाइने दाबी गरे।

कोरोना सङ्क्रमण देखिएका उदयपुरको भुल्के, धनकुटा जिल्ला अस्पताल, दमक नगरपालिकामा नियन्त्रणमा आइसकेको बताउँदै पछिल्लो समय क्वारेन्टिनमा रहेकाहरुमा सङ्क्रमण देखिएकाले आत्तिनुपर्ने अवस्था नभएको मन्त्री घिमिरेले भने । उनले भने, “अहिले ठूलो सङ्ख्यामा देखिएको सङ्क्रमण क्वारेन्टिनभित्रको हो र त्यहाँ सबै भारतबाट आएकाहरु रहेकाले समुदायस्तरमा कोरोना नफैलिएकाले चाँडै नियन्त्रणमा आउने छ ।’’

स्थानीयस्तरमा निर्माण गरिएका क्वारेन्टिन अव्यवस्थित हुँदा त्यसभित्र बढी सङ्क्रमण फैलिएको उनले बताए । अव्यवस्थित क्वारेन्टिनलाई व्यवस्थित गरिँदै लैजाने बताउँदै उहाँले पार्टीका नेता कार्यकर्ताहरुलाई कोरोना नियन्त्रणमा सक्रिय भएर लाग्न आग्रह गरे । अनलाइनमा संवादमा नेकपा नेताहरुले समुदायस्तरमा कोरोना नफैलिएको बताए ।

नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले झापामा देखिएको सङ्क्रमण समुदायस्तरमा नभएको बताउँदै जिल्लामा देखिएको ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमण क्वारेन्टिनमा मात्रै देखिएको बताए । खोटाङका अध्यक्ष राम दङ्गालले क्वारेन्टिनमा रहेकाहरुको परीक्षणमा तीव्रता दिन आग्रह गरे । ङ्खुवासभाका जिल्ला अध्यक्ष हेमराज घिमिरे र सुनसरीका अध्यक्ष योगेन्द्र मण्डलले क्वारेन्टिनहरु व्यवस्थित गर्न सरकारलाई आग्रह गरे । मोरङका सचिव गणेश उप्रेती (सुशील)ले सङ्क्रमण बढी देखिएका स्थानमा पिसीआर परीक्षण बढाउनुपर्नेमा जोड दिए ।

यस्तै उदयपुरका जिल्ला अध्यक्ष विनोद कटुवाल, ताप्लेजुङका अध्यक्ष विजय वनेम, पाँचथरका अध्यक्ष राजकुमार भण्डारी र भोजपुरका अध्यक्ष प्रेम राईले जिल्ला अस्पतालहरुमा स्वास्थ्य सामग्री अभावको समस्या समाधान गर्नुपर्ने र कोरोनापछि आउने समस्या समाधान गर्ने बजेट र कार्यक्रम ल्याउन आग्रह गरे ।