समाचार

साझा पार्टीको आह्वानः राष्ट्रियताको सवालमा सम्पूर्ण नेपाली एकढिक्का रहेको सन्देश प्रवाह गरौं

३१ जेठ काठमाडौं । साझा पार्टीले राष्ट्रियताको सवालमा संसदभित्र र बाहिरका दलसहित सम्पूर्ण देशवासी एक ढिक्का रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्न सबैमा आह्वान गरेको छ । साझाका सह-प्रवक्ता सरदराज पाठकले विज्ञप्तिा जरी गरी सम्पूर्ण नेपालीहरूलाई नयाँ नक्सा राख्ने गरी निसान छाप संसोधन गर्ने संसदको ऐतिहासिक निर्णयलाई स्वागत गर्दै राष्ट्रियताको सवालमा संसदभित्र र बाहिरका दलसहित सम्पूर्ण देशवासी एक ढिक्का रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्न आह्वान गरेका छन् ।

साथै साझा पार्टीले पछिल्ला केही दिनयता देशका विभिन्न भागमा जारी प्रदर्शनलाई सम्बोधन गर्दै सरकारले हिजो शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा साझा पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक गर्ने, महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने, पिसिआर टेस्टको दायरा थप बढाउने भनी सरकारले जारी गरेको सार्वजनिक प्रतिबद्धतालाई साझा पार्टीले शंकाको सुविधासहित स्वागत गरेको छ ।

साझा पार्टीले प्रेस विज्ञप्तिमार्फत नागरिक प्रदर्शनमा उठेका जायज मागहरू पुरा गर्ने प्रतिबद्धता तत्काल जनाउँदै संक्रमण फैलने जोखिमका कारण प्रदर्शन स्थगनको अपील गर्न सरकारसँग आह्वान गरेको भन्दै सरकारले त्यसै गरेको बताएको छ । तर विगतमा कयौँ पटक गरेजस्तै आफ्ना प्रतिवद्धता भुलेर नागरिकको विश्वासमाथि फेरी पनि धोका दिने काम भए प्रदर्शन अझ सशक्त भएर जान सक्ने र त्यसको नतिजा गम्भीर हुनसक्नेमा पनि साझाले सरकारलाई सचेत गराएको छ ।

सरकारको सार्वजनिक प्रतिबद्धता र कोरोनाको बढ्दो संक्रमणको पृष्ठभूमीमा हाल जारी प्रदर्शनलाई केही दिनका लागि स्थगन गरेर सरकारले वाचा अनुरूपका काम गरे नगरेको मूल्यांकन गर्न हामी आम नागरिकलाई अपील गरेको छ । त्यस्तै आज प्रतिनिधिसभाबाट लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटिएको नेपालको नयाँ नक्सासहितको निसान छापका लागि संविधान संशोधन गरिँदै छ ।