बाग्मती

चितवनमा पहिलोपटक जडीबुटी प्रशोधन उद्योग स्थापना

३० जेठ, भरतपुर । चितवनमा पहिलोपटक जडीबुटी तेल प्रशोधन उद्योग स्थापना भएको छ । जिल्ला जडीबुटी सहकारी सङ्घले रत्ननगर नगरपालिका–११ मङ्गलपुरमा उद्योग स्थापना गरेको हो ।

उद्योगको बिहीबार वाग्मती प्रदेशका सांसद कृष्ण खनालले उद्घाटन गरे । करिब ४० लाखको लगानीमा स्थापना गरिएको उद्योगले वनस्पतिबाट निस्कने सबै तेल उत्पादन गर्ने जिल्ला जडीबुटी सहकारी सङ्घका अध्यक्ष कुलप्रसाद देवकोटाले जानकारी दिए । उद्योगमा प्रशोधन मेसिनसँगै सङ्कलन केन्द्र स्थापना गरिएको छ । उद्योग नहुँदा चितवनमा उत्पादन भएको जडीबुटी बारा जिल्लामा निर्यात गरिएको थियो । उद्योग स्थापनापश्चात जिल्लामा वार्षिक दुई हजार लिटर तेल उत्पदन गरिने अध्यक्ष देवकोटाले बताए ।

उद्योग स्थापनाका लागि केन्द्रीय वन विभागले रु तीन लाख ६० हजार सहयोग गरेको छ । अन्य रकम सहकारी आफैँले उठाएका छन् । चितवनमा ५० किसान जडीबुटी खेतीमा आबद्ध छन् । कतिपय सहकारी आफैँले पनि जडीबुटी खेती गरेका छन् । भरतपुर र रत्ननगरका विभिन्न क्षेत्र, सामुदायिक वन र कवुलियती वनमा जडीबुटी खेती गरिएको छ । चितवनमा मेन्था, सिटोमेला, क्यामामाइल, लेमन ग्रास, तितेपातीलगायतका जडीबुटी उत्पादन हुने गरेको छ । एउटै सिजनमा मेन्था १० टन, सिटोमेला ३० टन उत्पादन भएको जडीबुटी सङ्घले जनाएको छ ।

उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, केन्द्रीय जडीबुटी सङ्घका अध्यक्ष ईश्वरी पाण्डेलगायतको उपस्थिति थियो ।

सामुदायिक वनमा काउसोको विरुवा रोपियो

नवजागृति सामुदायिक वनमा काउसोको बिरुवा रोपिएको छ । भरतपुर महानगरपालिका–११ स्थित वनमा १०० बढी काउसोको बिरुवा रोपिएको हो ।

सामुदायिक वनलाई उत्पादनमूलक क्षेत्रका रूपमा प्रयोग गर्न बहुउपयोगी गुण भएको काउसो रोपिएको वाग्मती प्रदेशका सांसद विजय सुवेदीले बताए । काउसो दुई प्रकारको हुन्छ । “एउटा काउसो चिलाउने हुन्छ, जुन हामी सबै त्यसबाट डराउँछौं”, उनले भने, “हामीले रोपेको बिरुवा नचिलाउने खालको हो ।” यो तरकारी खानका लागि घरघरमा लगाउन सकिन्छ । सामुदायिक वनमा खेर गएको जमिनमा तरकारी उत्पादन गर्ने उद्देश्यका साथ बिरुवा रोपिएको उनले बताए । सामुदायिक वनको आयआर्जन वृद्धि गर्नका लागि उत्पादनमूलक फलफूल र तरकारी लगाउनुपर्नेमा उनको जोड छ ।

सांसद सुवेदीले असार १४ गते आफ्नो निर्वाचन क्षेत्रमा ५० हजारभन्दा बढी बिरुवा रोप्ने योजना रहेको जानकारी दिए । भरतपुर एक बगैँचा अभियान शुरु गर्नुभएका सांसद सुवेदीले कौशीखेती र करेसाबारीलाई प्रोत्साहन गर्दै आएका छन् । “यो प्राचीन आयुर्वेद पद्धतिमा महत्वपूर्ण छ”, काउसो खेतीसम्बन्धी जानकार परशुराम लामिछानेले भन्नुभयो, “हामी चिलाउँछ भनेर तर्सन्छौँ, तर यो बहुउपयोगी छ । उनले यसलाई पौष्टिक आहारका रूपमा पनि प्रयोग गर्न सकिने बताए । मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउन यसले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । “यो अल्जाइमर, पार्किनसन र नसासम्बन्धी रोगका बिरामीलाई महत्वपूर्ण औषधि हुन्छ”, लामिछानेले भने । पहिले–पहिले थारू समुदायको खेतबारीमा हुने काउसो अहिले लोप हुँदै गएको उनले बताए । यसको उपयोगिता थाहा भएपछि पछिल्लो समय घरघरमा अभियानका रुपमा समेत रोप्न थालिएको उनले भने ।

नवजागृति सामुदायिक वनका अध्यक्ष पुस्तक गौतमले वनले आफँै गर्नुपर्ने काम सांसदले गरेको भन्दै यसलाई अभियानका रूपमा सञ्चालन गरिने बताए । नवजागृति वनलाई उत्पादनमूलक क्षेत्रमा लगाउने उनले उद्घोष गरे । “हामीले अहिलेसम्म ढलेका रुख काटेर मात्रै वनको व्यवस्थापन गरेका छौँ”, उनले भने, “अबका दिनमा यसलाई उत्पादनसँग जोड्नुपर्छ ।” काउसो नेपालका विभिन्न भूभागमा पाइने एक प्रकारको ओखतीय गुण भएको जङ्गली वनस्पति हो । काउसोको लहरा हुन्छ, यसको पात सिमीको पातजस्तै तीनपाते हुन्छ भने आकारमा सिमीको पातभन्दा ठूलो हुन्छ । यसको कोसा पनि सिमीकै कोसाजस्तो हुन्छ । यसको कोसामा एक प्रकारको झुसहरू हुन्छन् । यसको गेडा र जरालाई विभिन्न रोगको ओखती बनाउन प्रयोग गरिन्छ ।