साहित्य

“थाकिसकेको म”

   -गरिमा पाण्डेय                         – कविता

अरे ! किन बुझ्दैनौ तिमी ?
म पनि झोलामा कापी, किताब र कलम
बोकेर स्कुल जान चाहन्छु
हो, म पनि अरूजस्तै पढ्न चाहन्छु
यी मेरा कलिला कोमल हातले त्यत्रो भार उठाउन सक्दैन
तिम्रो काम गर्दा गर्दा थाकिसकेको छुम आज ।

आखिर किन मलाई दुःखी बनाउँछौ ?
किन अहोरात्र काम गराउँछौ मलाई ?
किन मैले यो सब दिनहुँ गर्नुपर्छ ?
किन तिमी यति धेरै निर्दयी बनेका छौ ?
थाकिसकेको छु म दिनहुँ यस्तो काम गर्दा गर्दा ।

श्रम गर्दा तिमीले दिएको त्यो चोट, त्यो घाउ
अनि
शरीरमा बसेका निलडाम आलै छन्
जुन अझैँ पनि बिसेक भएका छैनन्
हो, तिनै घाउ जुन तिमीले दिनहुँ दिन्थ्यौ मलाई
ती खाटा परेका घाउ र चोट सम्झिँदा लाग्छ
तिमीमा अलिकति पनि मानवता छैन
के तिमीमा कुनै संवेदना छैन ?
हो, म त एउटा काँचो बालक हुँ
किन दुःख दिन्छौ यी मेरा हातलाई ?
जुन हातले कलमको सट्टा आज औजार समात्न बाध्य बनाएका छौ
दिनहुँ यस्तो काम गर्दाथाकिसकेको छु म
त्यसैले बिन्ती छ ‘तिमी यो बालश्रम बन्द गरिदेऊ ।’

मैले झारेका यी आँसुबाट तिमी पैसा कमाउँछौ
मैले बगाएका पसिनाबाट आर्जित अन्न खाएर पालिन्छौ तिमी
अनि
मेरै श्रम शोषण गरेर मालिक बनी
पैसा कमाउँछौ र ऐस, आराम रमोज गर्छौ तिमी
तर
मैले न त माया पाउँछु
न त स्नेह र सद्भाव पाउँछु
न त एक निन्द्रासुत्नलाई एउटा खाट पाउँछु
तिम्रो निर्दयी व्यवहार सहेर
त्यही चिसो जमिनमा पल्टिन बाध्य छु म ।

कोही किन बुझ्दैन मेरो पिडा र उत्पीडन ?
कोही किन सुन्दैन मेरो रोदन, चिच्याहट र चित्कार ?
म दिनँहु छट्पटाइरहेको छु पिडामा
जसरी पानी बिना माछा छट्पटाउँछ,
तड्पिरहेको छु म आज
तथाकथित मालिकको निर्मम व्यवहारले,
आफ्नो खाने, खेल्ने, पढ्ने र बाँच्ने अधिकारको आशामा
दिनहुँ छट्पटिरहेको छु म
तर तिमी भने
किन नसुनेझैं गर्छौ कानमा तेल हालेर ?
के तिमीलाई मेरो पिडा महसुस हुँदैन ?
उफ् ! थाकिसकेको छु म दिनँहु यस्तो काम गर्दा गर्दा
त्यसैले बिन्ती छ ‘तिमी यो बालश्रम बन्द गरिदेऊ ।’

याद गर
तिमी पनि एकदिन मजस्तै कलिलो बालक थियौ
म पनि जीवन जिउन चाहन्छु मानव भएर
किन बुझ्दैनौ तिमी ?
मलाई पनि तिमी र तिम्रा छोरा–छोरीजस्तै
जीवन जिउनेरहर छ
हो, म पनि स्वस्थ र सुखी जीवन जिउन चाहन्छु
त्यो मेरो अधिकार पनि हो
म त्यस्तो जीवन जिउन चाहन्छु जहाँ मूल्यहीन श्रमगर्नुपर्दैन ।

तिमीसँग असल मन र सहयोगी भावना छ भने
अनि स्वच्छ, पवित्र र मानवतावादीहृदय छ भने
समयको परिवर्तनसँगै तिमी र तिम्रो व्यवहार बदलिनुपर्छ
आवाजहीनको आवाज सुनिनुपर्छ
तर तिमी त चुप छौ
तिम्रो मौनतामा लुकेको रहस्य मैले त बुझ्नै सकिँन
मेरो आवाज र भावनालाई कमजोरी नठान
यदि ठान्यौ भने त्यो तिम्रै लागि अभिशाप हुनेछ
किनकि तिम्रो काम गर्दा गर्दा थाकिसकेको छु म
त्यसैले बिन्ती छ ‘तिमी यो बालश्रम बन्द गरिदेऊ ।’