प्रदेश 1

ट्र्याक्टर दुर्घटनामा बालिकाको मृत्यु

गाईघाट, ३० जेठ । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ बाघखोरमा बिहीबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा नौ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिकाकै स्थानीय बालिका बिविशा पाण्डे रहेकी छिन् भने अर्का स्थानीय ४० वर्षीया शर्मिला तामाङ घाइते भएको प्रहरीले बताएको छ ।

जिल्लाको सदरमुकाम गाईघाट बजारमा दैनिक उपभोग्य वस्तु बोकेर उदयपुरगढीतर्फ जाँदै गरेको स१त ५१०७ नंको ट्र्याक्टर साँझ ७ बजे उदयपुरगढीको बाघखोर भन्ने सडकखण्डमा अनियन्त्रित भई सडकबाट तल खसेको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढाले बताए ।

प्रहरीले घटनास्थल पुगेर ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ भने बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल उदयपुर ल्याएको र घाइते तामाङको उपचार जिल्ला अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।