पु.समाचार

कोभिड–१९ को सङ्क्रमण आज १८७ डिस्चार्जसँगै थप २५० मा थप कोरोना पुष्टि

२९ जेठ, काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण आज थप २५० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज २३० पुरुष र २० महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए ।

थप सङ्क्रमितसँगै अब नयाँ सङ्क्रमतिको सङ्ख्या चार हजार ६१४ पुगेको छ । जसमा पुरुषको सङ्ख्या चार हजार २८५ छ भने महिलाको सङ्ख्या ३२९ छ । सङ्क्रमितको प्रादेशिक विवरणअनुसार प्रदेश नं १ मा १३ जिल्लाका ३०७, प्रदेश नं २ मा आठ जिल्लाका एक हजार ६७१, बाग्मती प्रदेशका १२ जिल्लाका १४७ र गण्डकी प्रदेशका नौ जिल्लाका १४७ जनामा कोरोना देखिएको छ ।

त्यस्तै प्रदेश नं ५ का १२ जिल्लाका एक हजार ३९९, कर्णाली प्रदेशका नौ जिल्लाका ७५९ र सुदूरपश्चिम प्रदेशका नौ जिल्ला गरी १९२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार गत २४ घण्टामा १८७ जना डिस्चार्ज हुनुभएको छ । त्यसमध्ये आठ महिला र १८९ पुरुष हुनुहुन्छ । यससँगै डिस्चार्ज हुनेको संख्या हालसम्म ८६१ पुगेको छ । त्यस्तै मृत्यु हुनेको सङ्ख्या १५ जना छ ।