समाचार

महिला फोरमको आयोजनामा बजेट र लैङ्गिकतामाथि विशेष विमर्श

२९ जेठ, काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, महिला फोरमको आयोजनामा बजेट र लैङ्गिक विषयमाथि विशेष विमर्श सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै काँग्रेसका उपसभापति तथा प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले सरकारले संसद्मा प्रस्तुत गरेको बजेट लक्ष्यहीन भएको धारणा व्यक्त गरेका थिए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले सातै प्रदेश र पालिकामा पार्टीका तर्फबाट विजयीका लागि प्रतिष्ठानले कार्यक्रम गरी बजेटको लैङ्गिक पक्षबारे जानकारी गराउने बताए । प्रतिष्ठान, महिला फोरमका संयोजक डा आरजु देउवाले बजेट महिला, महिला स्वास्थ्य, प्रजनन, बालबालिका, अपांगता, अशक्तता आदिलाई केन्द्रमा राख्नुपर्ने र विपन्नमुखी बनाउनुपर्नेमा सरकार यसतर्फ उदासीन रहेको टिप्पणी गरे ।

बजेटका विषयमा अवधारणा प्रस्तुत गर्ने क्रममा पूर्वअर्थ राज्यमन्त्री एवं कांग्रेस महासमिति सदस्य उदयशम्शेर राणाले बजेट लक्ष्य र दृष्टिकोणविनाको भएको टिप्पणी गर्दै यसले मुलुकको आवश्यकता पूरा गर्न नसक्ने र विकासका सम्भावनालाई अझ टाढा पुर्याउने बताए । त्यस्तै लैङ्गिक बजेटविज्ञ निग्मा ताम्राकारले बजेटका प्रकार र लैङ्गिक बजेटको विषयबारे आफ्नो अवधारणा प्रस्तुत गरेका थिए । प्रस्तुत अवधारणापत्रमाथि काँंग्रेस सचेतक पुष्पा भुसाल, केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, नेपाल महिला संघका सभापति तथा सांसद उमा रेग्मी र राष्ट्रियसभामा कांग्रेस सचेतक अनिता देवकोटाले टिप्पणी गरेका थिए ।

कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सदस्य नानुमैयाँ बाँस्तोला र प्राविधिक संयोजन सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपालका पूर्वमहासचिव इ दीपेश विष्टले गरेका थिए। जुमका माध्यमबाट सम्पन्न कार्यक्रममा पार्टीका महिला केन्द्रीय सदस्य, सांसद, प्रदेशसभाका सदस्य र विभिन्न भ्रातृ संस्थाका प्रतिनिधि गरी १०३ जनाको सहभागिता रहेको प्रतिष्ठानका सदस्य डा सुषमा तिवारीले जानकारी दिए ।