समाचार

नारायणी सामुदायिक अस्पतालसँग प्रशासनले माग्यो जवाफ

२९ जेठ, चितवन । भरतपुर अस्पतालमा सारिएका कोरोना सङ्क्रमित बिरामीको मृत्युपछि जिल्ला प्रशासन कार्यालय चितवनले बिरामी सारी पठाएको नारायणी सामुदायिक अस्पताललाई पत्राचार गरी के–कति कारणले पठाएको हो जवाफ माग गरेको छ ।

प्रशासनले पठाएको पत्रमा कोभिड–१९ सङ्क्रमित सघन उपचारकक्षमा उपचाररत बिरामीले के–कति कारण र कसको निर्णयले त्यहाँको अस्पतालबाट भरतपुर अस्पतालमा सारिएको हो जवाफ दिन भनिएको छ । पत्रमा त्यहाँका अस्पतालमा उपचारार्थ आउने बिरामी तथा सेवा प्रवाहमा खट्ने चिकित्सक र स्वास्थ्यर्कीको सुरक्षाका लागि के–कस्तो पूर्व सावधानीका उपाय अवलम्बन गराउने गरिएको छ, जवाफ मागिएको छ ।

यस्तै कोरोना सङ्क्रमित बिरामी उपचाररत स्थानबाट अर्को भरतपुर अस्पतालमा स्थानान्तरण गर्दा स्थानीय प्रशासनसँग समन्वय र भरतपुर अस्पतालसँग समन्वय सहमति भए गरेको हो, होइन रु भएको भए कुन तह र पदाधिकारीको समन्वय र सहमति भएको हो भनी प्रश्न गरिएको छ । प्रशासनले यथाशीघ्र अस्पतालको आधिकारिक यथार्थ धारणा के हो विस्तृतरूपमा पछिसम्म फरक नपर्ने गरी खुलाइ पठाइदिन अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाले जानकारी दिए ।

कोरोना पुष्टि भएपछि सो अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका—११ का ६८ वर्षीय सङ्क्रमितलाई सोमबार साँझ भरतपुर अस्पताल पठाइएकामा मङ्गलबार बिहान मृत्यु भएको थियो ।

माडीमा सघन उपचारकक्ष निर्माण हुने

माडी नगरपालिकास्थित बघौडा अस्पतालमा भेन्टिलेटरसहितको दुई श्ययाको सघन उपचारकक्ष निर्माण गरिने भएको छ । नगरस्तरीय कोरोना रोकथाम समन्वय समितिको बुधबार सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारीका अनुसार अस्पतालमा आइसोलेसन निर्माणको काम तत्काल शुरु गर्ने र सघन उपचारकक्षका लागि प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो । नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार अस्पतालमा ३० श्ययाको आइसोलेसन वार्ड तयार गरिनेछ । माडी नगरपालिकाको सोमेश्वर माविमा रहेको क्वारेन्टिनमा बस्ने छ जनालाई कोरोना भाइरस सङ्क्रमण देखिएलगत्तै समितिले यस्तो निर्णय गरेको हो ।

सघन उपचारकक्षसहितको आइसोलेसन वार्ड बनाउने भरतपुर महानगरपछिको दोस्रो स्थानीय तह भएको उनले जानकारी दिए । यस विषयमा जिल्लामा रहेका अस्पतालसँग समन्वय गर्ने प्रक्रिया शुरु भइसकेको ढकालको भनाइ छ ।