सुदूरपश्चिम

टीकापुरमा ३० श्ययाको अस्थायी कोरोना अस्पताल आजदेखी सञ्चालन

लम्की, २९ जेठ । कोरोना सङ्क्रमण फैलिँदै गएपछि टीकापुरमा तयार गरिएको अस्थायी कोरोना अस्पताल आजदेखि सञ्चालनमा आएको छ । कैलालीका सात स्थानीय तह मिलेर टीकापुरको सिटीहलमा तयार गरिएको अस्थायी अस्पताल आजदेखि सञ्चालनमा आएको हो ।

टीकापुर अस्पतालमा १२ श्ययाको आइसोलेसन वार्ड यसअघि नै सञ्चालनमा छ । टीकापुर अस्पतालमा कोरोना सङ्क्रमित नअटेपछि सिटीहलमा तयार गरिएको हो । यहाँ कैलालीका सात स्थानीय तहका सङ्क्रमितको उपचार गरिनेछ ।

टीकापुरको सिटीहलमा ३० श्ययाको तयारी पूरा भएपछि बुधबार स्थानीय तहका जनप्रतिनिधि र टीकापुर अस्पतालबीच छलफलसमेत भएको छ । छलफलमा अस्पतालमा टीकापुर अस्पतालले प्राविधिक सहयोग गर्ने र आर्थिक व्ययभार स्थानीय तह मिलेर गर्ने सहमति भएको छ । “चिकित्सकको परामर्शलगायत कार्य टीकापुर अस्पतालले गर्नेछ”, टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले भन्नुभयो, “आइसोलेसनमा ड्युटी हरेक स्थानीय तहका स्वास्थ्यकर्मीले १५–१५ दिन गर्ने सहमति भएको छ ।”

रावलका अनुसार आइसोलेसनमा उपचारमा खट्ने स्वास्थ्यकर्मीका लागि समेत त्यही बस्ने व्यवस्था मिलाइएको छ । “हामी दैनिक बिरामीको रेखदेख र उपचारका लागि खटेका छौँ”, टीकापुर अस्पतालका डा जितेन्द्र कँडेलले भने, “सङ्क्रमितमा पनि सामान्य समस्या भएकालाई अस्थायी अस्पतालमा राखिनेछ भने समस्या देखिएकालाई टीकापुर अस्पतालमा रहेको १२ श्ययाको आइसोलेसनमा राखेर उपचार सेवा दिनेछौँ ।”

केही दिनअघि टीकापुर अस्पताल विकास समितिको समन्वयमा बसेको स्थानीय तहसहितको सर्वदलीय बैठकले टीकापुर अस्पतालमा रहेको १२ श्ययाको आइसोलेसनकक्ष अपुग भएकाले टीकापुरको सिटीहलमा अस्थायी अस्पताल सञ्चालन गर्ने निर्णय गरेको थियो । अस्थायी अस्पताल सञ्चालनका लागि टीकापुर, लम्कीचुहा, भजनी र घोडाघोडी नगरपालिका, जानकी, वर्दगोरिया र जोशीपुर गाउँपालिकाले सहकार्य गरेको छ । यो क्षेत्रका बिरामीलाई उपचार सेवा लिन धनगढीभन्दा टीकापुर सहज हुन्छ ।

टीकापुरमा कोरोना सङ्क्रमित १३ पुगे

कैलालीको टीकापुरमा कोरोना सङ्क्रमितको संख्या १३ पुगेको छ । बुधबार टीकापुरका पाँच जनामा कोरोना पुष्टि भएसँगै टीकापुरमा सङ्क्रमितको सङ्ख्या १३ पुगेको छ । टीकापुरका सङ्क्रमित चार जनाको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । बाँकी नौ जनाको श्यया अभावमा क्वारेन्टिनमै रहेका छन् ।

उनीहरुलाई आजबाट सञ्चालनमा आएको आइसोलेन वार्डमा ल्याउने तयारी भइरहेको टीकापुर नगरपालिका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले जानकारी दिएका छन् । “तीन दिनअघि सङ्क्रमण देखिएका पनि क्वारेन्टिनमै छन्, अस्पतालमा राख्ने ठाउँ नभएर क्वारेन्टिनमै छुट्टै कोठामा राखेका हौँ”, संयोजक रावलले भने, “आजदेखि सञ्चालनमा आएको अस्पतालमा लैजाने तयारी भएको छ । दैनिक सङ्क्रमित देखिन थालेका छन् । ४०० स्वाबको नतिजा आउन बाँकी छ । अझै ठाउँ अभाव हुन्छ ।”

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रहेको आइसोलेसन वार्डसमेत भरिएको छ । कैलालीमा सङ्क्रमितको सङ्ख्या ६० पुगेको छ । दैनिक सङ्क्रमित बढ्दै गएपछि सङ्क्रमित कहाँ राख्ने भन्ने समस्या शुरु भएको सेती अस्पतालले जनाएको छ ।