गण्डकी प्रदेश

मुख्यमन्त्री गुरुङद्वारा उपचार केन्द्रको निरीक्षण

२८ जेठ, दमौली । तनहुँ जिल्लाका तीन जना कोरोना सङ्क्रमितको उपचार भइरहेको जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रको आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निरीक्षण गरेका छन् । उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन र उपचार केन्द्रको वस्तुस्थिति बुझ्ने उद्देश्यले मुख्यमन्त्री गुरुङले उपचार केन्द्रको निरीक्षण गरेका हुन्।

सो अवसरमा मुख्यमन्त्री गुरुङले स्वास्थ्य संस्थाको दिगो विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम त्यस विषय समेटिएको बताए । मुख्यमन्त्री गुरुङले कोरोना सङ्क्रमितको उपचारमा ध्यान दिनेसमेत आग्रह गरे ।

केन्द्रका निमित्त कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । स्थानीयस्तरबाट सञ्चालित सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व गत वर्षको साउनबाट गिरिजाप्रसाद कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रमा हस्तान्तरण गरिएपछि सोही अस्पतालको भवनबाट उपचार केन्द्रको प्रशासनिक काम र स्वास्थ्य उपचारको सेवा सञ्चालन भइरहेको छ ।

अस्पतालमा तनहुको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् । दक्षिण एशियाकै उत्कृष्ट स्वासप्रस्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले नै केही वर्ष अघि पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको स्वासप्रस्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।