कृषि

कृषि सामग्री गाउँसम्म पुर्याउन माग

२८ जेठ, काठमाडौँ । जनता समाजवादी पार्टीले कृषि उत्पादनको प्रोत्साहनका लागि तत्काल मलखाद र कीटनाशक तथा अन्य कृषि सामग्रीको उपलब्धता गाउँ कन्दरासम्म सुनिश्चित गराउन सरकारसँग माग गरेको छ । सो पार्टीका अध्यक्ष महन्थ ठाकुरले आज जारी गर्नुभएको विज्ञप्तिमा कोभिड–१९ को अवधिमा आर्थिक सङ्कटबाट गुज्रिराखेको कृषक समुदाय आगामी दिनमा न्यून उब्जनी र खाद्यान्न अभाव तथा भोकमरीको त्रासले झनै त्रस्त र विचलित हुदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

सरकारको नीति कार्यक्रममा खाद्यान्न कृषिमा आत्मनिर्भर हुने कृषिलाई लाभमूलक पेशा बनाई कृषि रोजगारीमा अभिवृद्धि गर्दै, खाद्यान्नमा देशलाई आत्मनिर्भरता तर्फ लैजाने लक्ष्यको सरकारी घोषणा भएपनि प्रमुख अन्नबालीको रुपमा रहेको धानखेतीको प्रारम्भमा नै देशभरि बिउबिजन, डिएपी तथा यूरियाको चरम अभाव भएको विज्ञप्तिमा भनिएको छ ।