बाग्मती

राेजीरोटी नै गुम्न लागेको भन्दै पसल खोल्न आएका व्यवसायीलाई प्रहरीले रोक्यो

२८ जेठ, काठमाडौँ । कोभिड–१९ सङ्क्रमण रोक्न सरकारले जारी गरेको बन्दाबन्दीको आदेशको बेवास्ता गर्दै पसल सञ्चालन गर्न खोज्ने व्यवसायीलाई प्रहरीले रोकेको छ । काठमाडौँको न्यूरोडलगायत क्षेत्रमा बन्दाबन्दीका कारण आफ्नो रोजीरोटी नै गुम्न लागेको भन्दै पसल सञ्चालन गर्न आएका व्यवसायीलाई आज प्रहरीले खोल्न दिएन ।

सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार नियम उल्लङ्घन गरेकाले पसल सञ्चालन गर्न रोकेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए । उनले सरकारी आदेश नआएसम्म तोकिएकाबाहेक कुनै पनि गतिविधि सञ्चालन गर्न नदिइने बताए । “बिहान केही व्यक्ति पसल खोल्न भनेर आएको थियो, हामीले रोक्यौँ, सरकारले जारी गरेको आदेशको पूर्ण पालनामा प्रहरी कटिबद्ध छ, बन्दाबन्दी उल्लङ्घन हुन नदिन प्रहरी सचेत छ”, यादवले भने ।

सरकारले कोभिड–१९ सङ्क्रमण रोक्न गत चैत ११ गतेबाट बन्दाबन्दीको आदेश जारी गरेको थियो । पटक पटक समय थप्दै यही जेठ ३२ गतेसम्मका लागि बन्दाबन्दी कायमै छ । यस बीचमा त्यसको ढाँचा परिवर्तन गर्न सरकारले गृहकार्य गरिरहेको छ । क्रमैसँग बन्दाबन्दीलाई खुकुलो पार्दै लैजाने विषयमा समेत छलफल जारी रहेका बेला जेठ २१ गते साना व्यवसायीले एकतर्फीरुपमा पसल खोल्ने निर्णय गरेका थिए । निर्णयको केही दिन पसल सञ्चालन भए पनि मङ्गलबारदेखि भने प्रहरीले पसल सञ्चालनमा रोक लगाउँदै आएको छ ।

मङ्गलबार काठमाडौँको बालुवाटार तथा न्यूरोड क्षेत्रमा व्यवसायीले प्रदर्शनसमेत गरेका थिए । बालुवाटारमा प्रदर्शन गर्न आएका युवाले कोभिड–१९ को परीक्षणको दायरा बढाउन, क्वारेन्टिन व्यवस्थित गर्नसमेत माग गरेका थिए । उनीहरु प्रदर्शनमा उत्रिएपछि प्रहरीले पानीको फोहरा हानेर भीड नियन्त्रणमा लिएको थियो । व्यवसायीले भने पसल खोल्न पाउनुपर्ने माग कायमै राखेका छन् ।

बन्दाबन्दीमा पनि चहलपहल बढ्दो

जारी बन्दाबन्दीमा पछिल्लो समयमा काठमाडौँ उपत्यकालगायत मुलुकभर नै उल्लङ्घन गर्ने क्रम बढेको छ । बन्दाबन्दीको वास्ता नगरी जथाभावी सडकमा निस्कने, पास नै नबनाई आवातजावत गर्ने क्रम बढेको पाइएको छ । आज मात्रै उपत्यकाको विभिन्न क्षेत्रमा स्थलगत अवलोकनमा निस्किँदा मानिसको चहलपहल बाक्लो थियो भने सवारीको चापमा समेत वृद्धि भएको पाइएको छ ।

बन्दाबन्दीको अवधिमा सवारी पास वितरणमा समेत वृद्धि भएकाले पनि सवारी बाक्लिएको प्रहरीले जनाएको छ । उपत्यकाको मुख्य सडकमा प्रहरीको बाक्लो उपस्थिति रहेको तर भित्री सडकमा कम उपस्थिति हुँदा सर्वसाधारण आफूखुशी सडकमा निस्किएका छन् । भित्री सडक किनाराका पसल खुलेको देखिन्छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल ट्राफिक प्रहरीले पास बिनाका कुनै पनि सवारी भने सञ्चालन गर्न नदिएको दाबी गरे । मङ्गलबारदेखि भने जाँचमा थप कडाइ गरिएको उनले जानकारी दिए । मङ्गलबार अहिलेसम्म कै सबैभन्दा बढी चार हजार सवारीलाई नियन्त्रणमा लिएर कारवाही गरिएको उनले जानकारी दिए । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार आज मात्रै बन्दाबन्दी उल्लङ्घन गर्ने दुई हजार ४०० सवारी नियन्त्रणमा लिइसकिएको छ ।