समाचार

कोरोना महामारी नियन्त्रण गर्न जिल्लाभर साझा कार्यक्रम

२८ जेठ, बलेवा । कोरोना महामारीसँग जुध्नका लागि बागलुङका स्थानीय तहले साझा कार्यक्रम बनाएका छन् । बागलुङ नगरपालिकाको आह्वानमा मङ्गलबार जिल्लाको १० वटै स्थानीय तहको संयुक्त बैठक बसेर साझा कार्यक्रम तय गरेका हुन् ।

स्थानीय तहले कोरोना सङ्क्रमण भएका बिरामीको उपचारका लागि तत्काल जिल्लालाई दुई भागमा विभाजन गरेर आइसोलेशनको प्रयोग गर्ने भएका छन् । जिल्लाको निसीखोला, तमानखोला, बडिगाड र ढोरपाटन नरपालिकाका सङ्क्रमितलाई बुर्तिबाङस्थित स्वास्थ्य केन्द्रमा रहेको आइसोलेशन र बागलुङ, जैमिनी, गलकोट नगरपालिका तथा काठेखोला, बरेङ र ताराखोला गाउँपालिकाका सङ्क्रमितलाई धौलागिरि बहुमुखी क्याम्पसको प्रि–आइसोलेशनमा राखेर उपचार गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुसालले बताए ।

सङ्क्रमित देखापरेपछि उपचार गर्ने कहाँ गर्ने भन्ने विषयमा अन्योलता सिर्जना देखिएको हुँदा समाधानका लागि स्थानीय तहले यस्तो निर्णय गरेका हुन् । त्यस्तै, बाहिरबाट आउनेका लागि पनि जिल्लाको दुई ठाउँमा होल्डिङ सेन्टर बनाउने निर्णय बैठकले गरेको छ । बडिगाड गाउँपालिकाको खर्वाङ बजार र बागलुङ बजारमा होल्डिङ सेन्टरको व्यवस्थापन गर्ने निर्णय भएको भुसालले बताए। स्थानीय तहको संयुक्त बैठकले कोरोना भाइरसको जाँचलाई द्रुत बनाउनका लागि धौलागिरि अस्पतालमा प्रयोगशाला स्थापना गर्ने गरी गण्डकी प्रदेश सरकारसँग पिसिआर जाँच मेसिन माग गर्ने निर्णय गरेका छन् । प्रदेश सरकार खरिद प्रक्रियामा रहेकाले एउटा मेसिन साविकको धौलागिरिका लागि उपलब्ध गराउन पहल गर्ने निर्णय बैठकले गरेको छ ।

प्रदेश सरकारले मेसिन उपलब्ध नगराए पालिकाहरु मिलेर संयुक्तरुपमा मेसिन किन्ने सहमति भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । ल्याबका लागि आवश्यक जनशक्तिको भने बागलुङ, पर्वत र म्याग्दीका स्वास्थ्य प्राविधिकको सल्लाहका आधारमा व्यवस्थापन गर्ने बैठकमा निर्णय भएको छ ।

लक्षण देखिएका बिरामीलाई मात्रै धौलागिरि अस्पताल पुर्याउने र बाँकी सङ्क्रमितको प्रि–आइसोलेशनमा उपचार गर्ने निर्णय पनि बैठकले गरेको छ । दशवटै स्थानीय तहले साझा कार्यक्रमका रुपमा विदेशबाट आउनेलाई होल्डिङ सेन्टरमा राखेरमात्रै क्वारेन्टिनमा पठाउने व्यवस्था मिलाउन सहमति गरेका छन् । होल्डिङ सेन्टरको व्यवस्थापन र थप आइसोलेशन निर्माणका लागि प्रत्येक नगरपालिकाले पाँच लाख र गाउँपालिकाले दुई लाख बजेट उपलब्ध गराउने निर्णयसमेत बैठकले गरेको छ । उक्त रकम पश्चिमका चार पालिकाले बडिगाड गाउँपालिकाको खातामा र अरु ६ वटा पालिकाले बागलुङ नगरपालिकाको खातामा जम्मा गर्ने सहमति बैठकमा भएको छ ।

बुर्तिबाङमा रहेका २५ श्यया र धौलागिरि बहुमुखी क्याम्पसका ५० श्यया आइसोलेशन तत्कालका लागि प्रयोगमा ल्याउने र सङ्क्रमित थपिँदै जाँदा स्थानीय तहमा नै आइसोलेशन निर्माण गर्ने निर्णयसमेत बैठकमा भएको छ । जिल्ला समन्वय समिति, दशवटै स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखाका प्रमुख, स्वास्थ्य कार्यालय बागलुङ, धौलागिरि अस्पताल बागलुङका प्रतिनिधि बैठकमा सहभारी थिए ।