राजनीति

नेपाली भूमि नेपाली होईनन् भन्ने देशद्रोही गिरिलाई तत्काल पदमुक्त गरि कडा कारबाही गरौंः अध्यक्ष बस्नेत

२९ जेठ, काठमाडौं । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल केन्द्रीय समितिले हालसालै एक टेलिभिजन अन्तरवार्तामा संघीय सांसद सरिता गिरीले आफ्नो पदीय मर्यादा विपरीत नेपालका भूमिहरु लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालका होईनन् भनेर दिएको अभिव्यक्ति प्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ ।

दलले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘तिक्रमित भूमि नेपालको नक्सामा समावेश गरी निशान छाप सच्याउनका लागि आवश्यक संविधान संशोधन गर्नुपर्ने भएको हुनाले त्यसका लागि नेपाली काँग्रेस पार्टीको केन्द्रिय कार्यसमितिको बैठक बसी संविधान संशोधनको पक्षमा मतदान गर्ने संस्थागत निर्णय गरेको यहाँहरु सम्पूर्णमा सर्वबिदितै छ । यसरी संविधान संशोधन प्रक्रिया चलिरहेको अवस्थामा निज सांसदले उक्त भूमि नेपालको नभएको भनी सार्वजनिक रुपमा टेलिभिजन मार्फत अन्तरवार्ता दिनु मुलुकको स्वतन्त्रता, राष्ट्रिय अखण्डता, स्वाभिमान, राष्ट्रिय एकता विरुद्धको अभिव्यक्ति भएको नेपाल तरुण दलको ठहर छ ।’

दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले भनेका छन्, ‘इतिहास देखि पुर्खाहरुले बचाएको एक ईन्च भूमि पनि अतिक्रमण भएमा नेपाल तरुण दललाई मान्य नहुने जानकारी दिँदै राष्ट्रियताको सवालमा नेपाल तरुण दलले कसैसंग पनि सम्झौता नगर्ने स्पष्ट गर्न चाहन्छ । सांसद सरिता गिरीले संसदमा नेपालको राष्ट्रिय गौरवको रुपमा रहेको नेपाली सेनाको विषयमा विवादास्पद अभिव्यक्ति दिएको तर्फ समेत नेपाल तरुण दलको ध्यान आकर्षण भएको छ । नेपाल तरुण दलले यस्ता अभिव्यक्ति सच्याउन जोड्दार माग गर्दछ ।’

तरुण दलले केपी ओली नेतृत्वको नेकपाको सरकार, सभामुख तथा सम्बन्धित संस्थाहरु राष्ट्रियताको विषयमा झण्डै तीन करोड नेपाली जनतालाई चोट पर्ने गरी बोलेकोमा संसद पदबाट निलम्बन गर्ने देखि हदै सम्मको कारबाही गर्ने प्रक्रिया थाल्नुको सट्टा मौन बस्नु नेपाल तरुण दललाई असह्य भएको जनाउँदै राष्ट्रघाती सांसद गिरिलाईलाई तत्काल पदमुक्त गरी कारबाही गर्न माग गर्दै यस्ता अराष्ट्रिय तत्वहरुलाई कारबाहीको लागि जोड्दार माग गरेको छ ।