समाचार

थुनुवाको मृत्युपछि छानबिनको माग गर्दै प्रदर्शन

धनुषा, २८ जेठ । इलाका प्रहरी कार्यालय सवैलाको थुनुवाकक्षमै एक जना झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएपछि स्थानीयवासी छानबिनको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । थुुनामा रहेका धनुषा सवैला नगरपालिका–१२ का २२ वर्षीय शम्भु सदा मुसहर झुन्डिएको अवस्थामा मृत भेटिएको इप्रका सवैलाका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले बताए ।

“सवारी ज्यान कसुर मुद्दामा थुनामा रहेका मुसहर गएराति २ बजेतिर शौचालयमा झुन्डिएको अवस्थामा हामीले पायौँ”, प्रहरी निरीक्षक यादवले भने । थुनामै मुसहरको मृत्यु भएपछि घटना शङ्कास्पद रहेको भन्दै स्थानीयवासीले बरकुर्वामा सडक अवरुद्व गरी प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले प्रहरी भ्यानमा समेत तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको जनाएको छ । स्थानीयवासीले प्रहरी चौकीमा बाहिरबाटै ढुङ्गामुढा गरेपछि बाहिर राखिएको भ्यानमा क्षति पुगेको छ । प्रहरीले घटनाबारे छानबिन भइरहेको जनाएको छ ।