पु.समाचार

लकडाउन कडा हुँदै, उपत्यकामा एकै दिन चार हजार सावरी कारवाहीमा

२७ जेठ, काठमाडौं । कोभिड–१९ सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको बन्दाबन्दी उल्लङ्घन गर्नेविरुद्ध महानगरीय ट्राफिक प्रहरीले थप कडाइ गर्न थालेको छ । बिना काम, बिना पास र अत्यावश्यक कामबाहेक सवारी साधन चलाउने उपर जाँचलाई तीव्र पार्दै प्रहरीले थप कडाइ गरी कारवाही थालेको छ । आज मात्रै चार हजारभन्दा बढीलाई कारवाही गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ र रातमा ४५ स्थानमा जाँच चौकीमार्फत आम नागरिकको अत्यावश्यक सेवा र कामलाई सहजीकरण गर्दै उपत्यकाको मुख्य नाकाहरू, मुख्य सडक तथा भित्री सडकमा ट्राफिक प्रहरी परिचालन गरी जाँच गर्दै आएको छ ।

आज मात्रै काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने तीन हजार ६४७ दुईपाङ्ग्रे र ४६० चारपाङ्ग्रे गरी जम्मा चार हजार १०७ सवारी नियन्त्रणमा लिई चालकलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रहरीले लकडाउन खुकुलो भन्ने गलत कुराको पछाडि नलाग्न, कुनै पनि हल्ला, भ्रममा नपर्न र लकडाउनको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन महाशाखाका प्रमुख ढकालले अनुरोधसमेत गर्नुभएको छ । लकडाउनमा बिना काम बाहिर ननिस्कन र घरमै बसेर कोरोनाबाट बच्न गरिएको आग्रह लत्याउँदै बिना काम बजार घुम्न, आफन्त भेट्न र रमाइलो गर्न निस्कने र पास नलिई सवारी चलाउने गरेको पाइएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार काठमाडौँ उपत्यकामा चैत ११ गतेदेखि आजसम्म लकडाउन उल्लङ्घन गर्ने ६१ हजार ४०६ सवारी साधन नियन्त्रणमा लिएर चालकलाई कारवाही गरिएको छ ।