कृषि

बन्दाबन्दीले सुदूरपश्चिम प्रदेशको कृषि क्षेत्रमा एक अर्बको क्षति

२७, भीमदत्तनगर । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण सुदूरपश्चिम प्रदेशको कृषि क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार बन्दाबन्दीका कारण तरकारी, कुखुरा उत्पादन तथा बिक्री, दुग्धजन्य पदार्थ, मासु, माछालगायतका क्षेत्रमा गरी अहिलेसम्म करिब एक अर्ब मूल्य बराबरको क्षति भएको छ । मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ वागवानी विकास अधिकृत खगेश्वरप्रसाद शर्माले लकडाउनका कारण सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कृषितर्फ ब्रोइलर कुखुरापालन, बिक्री वितरण र उत्पादनमा भएको बताए ।

“ब्रोइलर कुखुराको दानापानी, खोप बन्द हुनाका साथै किसानले करिब ५० हजार कुखुरा गाड्नुपर्दा रु २५ करोड मूल्य बराबरको क्षति भएको तथ्याँक छ”, प्रवक्ता शर्माले रासससँग भने, “लकडाउनको पहिलो महिना धेरै क्षति पुगे पनि त्यसपछि सरोकारवाला निकायसितको समन्वयमा कृषिक्षेत्रमा सहजीकरण हूँदा राम्रो पनि भयो ।” कुखुरा, दाना, अण्डा उत्पादन तथा बिक्रीमा समस्या हुँदा गरेर ५० करोड क्षति भएको उहाँको भनाइ छ । “अहिले बजारमा कुखुराको मूल्य बढ्नाका साथै अभाव पनि देखिएको छ”, उनले भने, “आहारकै कारण चल्ला नष्ट गर्दा अहिले अभाव हुनु स्वाभाविक हो ।” उनले तरकारी बिक्रीमा सहजीकरण गरेकै कारण धेरै नोक्सान हुन नपाएको बताए ।

“हावाहुरी र पानीले केहीहदसम्म बगरको तरकारीमा क्षति पुग्यो”, शर्माले भने, “सहजीकरणले नै किसानले गहुँ भित्र्याउन पाउनुका साथै अहिले धानको बीउ र मल सहजै उपलब्ध भइरहेको छ ।” लकडाउनका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा उत्पादन भएको तरकारी र फलफूल निर्यात हुन सकेन । सुदूरपश्चिम प्रदेशको नौवटै जिल्लामा गरी नौ हजार हेक्टर क्षेत्रफलमा तरकारीखेती, ११ हजार हेक्टरमा आलुखेती, पहाड र तराईमा गरेर आठ हजार हेक्टरमा फलफूलखेती हुँदै आएको मन्त्रालयले जनाएको छ ।

“लकडाउनअघि सुदूरपश्चिममा दैनिक ४० हजार लिटर दूध बजारमा आउँथ्यो”, शर्माले भन्नुभयो, “दुग्ध उत्पादनमा मात्रै दैनिक रु ८० लाखको क्षति भइरहेको छ ।” मासु बिक्रीमा रु दुईदेखि चार करोड मूल्य बराबरको क्षति पुगेको बताउँदै उनले ५०० टन माछासमेत बन्दाबन्दीका कारण बिक्री हुन नसकेको जानकारी दिए । “तरकारीमा दैनिक ५० टन बिक्री हुन समस्या भयो”, शर्माले भने, “तरकारीमा मात्रै दुईदेखि तीन करोड मूल्य बराबर क्षति भएको छ ।”

कृषि क्षेत्रमा भएको क्षतिबारे केन्द्रीय कृषि मन्त्रालय र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयलाई जानकारी गराइएको छ । “पछिल्लो समय स्थानीय प्रशासनसित समन्वय हुँदा यहाँका सहकारीले करिब ६०० टन डिएपी मल भैरहवाबाट यहाँ ल्याएका छन्”, उनले भने, “धानको बीउ भने सुदूरपश्चिमकै स्थानीय उत्पादन पर्याप्त छ ।” मन्त्रालयले कृषि ज्ञान केन्द्रलगायतका निकायमार्फत रु दुई करोड अनुदानको धानको बीउ किसानलाई ५० प्रतिशत अनुदान रकममा वितरण गरिएको जानकारी दिए । “बीउका लागि हामीले अरुको मुख ताक्नुपर्ने अवस्था छैन”, उनले भने, “दुई हजार टन बीउ स्थानीय उत्पादन छ ।”

त्यसैगरी प्रदेश कृषि मन्त्रालयको चालू आर्थिक वर्षको करिब ५० प्रतिशत रकम फ्रिज हुने सम्भावना रहेको छ । “चालू आवमा मन्त्रालयअन्तर्गत दुई अर्ब ८० करोड बजेट विनियोजन भएको थियो”, प्रवक्ता शर्माले भने, “बन्दाबन्दीका कारण ५० प्रतिशत रकम खर्च हुनेसक्ने सम्भावना कम छ ।”

लकडाउनका कारण सुदूरपश्चिम प्रदेश सरकारले घोषणा गरेका विभिन्न कार्यक्रम सञ्चालन हुन सकेनन् । “यान्त्रिकीकरणलगायत केही ठूला योजनाको काम भने हुँदैछ”, शर्माले भने, “कृषि क्षेत्र यस वर्ष समस्यामा रह्यो ।”

क्वारेन्टिनमा योग सिकाउँदै वडाध्यक्ष

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ का वडाध्यक्ष शिवराज पनेरु आफ्नो वडामा रहेका क्वारेन्टिनमा बसेकालाई योग साधना सिकाइएका छन् ।

भारतबाट आएर वडाका विभिन्न सामुदायिक विद्यालय भवनमा आश्रय लिइरहेका स्थानीयवासीलाई वडाध्यक्ष पनेरुले हरेक दिन बिहान योग साधना कक्षा सञ्चालन गरिरहेको बताए । सोमबारदेखि स्थानीय सिद्धवैनाथ माध्यमिक विद्यालयबाट योग कक्षा शुरु गरेका वडाध्यक्ष पनेरुले नगरभित्रका सबै क्वारेन्टिनमा योग शिविर सञ्चालन गर्ने योजना रहेको बताए।

भारतको हरिद्वारबाट योग प्रशिक्षकको तालिम लिनाका साथै युवा नेपाल योग समिति कञ्चनपुरका अध्यक्षसमेत रहेका वडाध्यक्ष पनेरुले सामाजिक दूरी कायम राख्दै हरेक दिन विद्यालयको चौरमा योग शिविर सञ्चालन हुने बताए । “योगले मानिसलाई स्वास्थ्य रहन र शरीरमा प्रतिरक्षा क्षमता बढाउन सहयोग पु¥याउँछ”, उनले भने, “चैतदेखि नै क्वारेन्टिनमा योग शिविर चलाउने योजना रहे पनि विविध कारणले सम्भव भएन ।” उनले शुक्लाफाँटा नगरपालिकाभित्र रहेका हरेक क्वारेन्टिनमा दुई÷दुई दिनको योग शिविर सञ्चालनका लागि नगरप्रमुखसँग समन्वय भइरहेको बताए ।

“महामारी जस्तो विपत्का बेला हामीले उच्च मनोभाव राखेर समुदाय र आमनागरिकका हितमा काम गर्ने हो”, उनले भने, “सङ्क्रमणको त्रास भागेर मात्रै समस्या समाधान हँुदैन ।” वडाध्यक्ष पनेरुले वडाको करिब रु चार लाख रकम रकमान्तर गरेर वडाका दुईवटा स्थानमा रहेका क्वारेन्टिनमा बसेकाहरुको खानपिनको प्रबन्ध मिलाइएको जानकारी दिए । “क्वारेन्टिनमा बसेकालाई बिहान खाजादेखि दुई समय खानाको प्रबन्ध वडाबाटै मिलाएका छौँ”, उनले भने, “दुईवटै क्वारेन्टिनमा गरेर ११६ जना बसिरहेका छन् ।” उनले क्वारेन्टिनमा बस्नेहरुको सङ्ख्या थपघट भइरहेको समेत बताए ।

“भोलिदेखि योग आयुर्वेद कक्षालाई थप प्रभावकारी बनाउँदै लैजानेछौँ”, उनले भने, “योग शिविरमा नगरप्रमुख र पतञ्जली नगर योग समितिका पदाधिकारी पनि आउने कुरो छ ।” कञ्चनपुरका केही योग प्रशिक्षकहरुले सामाजिक सञ्चालनमार्फत योग कक्षा सञ्चालन गरिरहेको भए पनि आफू पहिलोपटक क्वारेन्टिनस्थलमै पुगेर शिविर सञ्चालनमा जुटेको उनको भनाइ छ । योग साधना कक्षा पाएपछि क्वारेन्टिनमा बसेकाहरुले खुशी व्यक्त गरेका छन् ।

“वडाध्यक्ष पनेरुजी आफैँ योग प्रशिक्षक हो भन्ने थाहा थियो”, सिद्धवैजनाथ माध्यमिक विद्यालयमा बसिरहेका स्थानीय जयदेव भट्टले भने, “योगले हामी सबै मानसिकरुपले पनि स्वास्थ्य भएको महसुस भएको छ ।” जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार जिल्लाका नौवटै स्थानीय तहमा १८० स्थानमा क्वारेन्टिन सञ्चालनमा रहेका छन् । भारतबाट फर्किएर यहाँका आठ हजार ३५१ जना नागरिक क्वारेन्टिनमा बसिरहेका छन् ।