समाचार

संविधान संशोधन विधेयकमा सैद्धान्तिक छलफल हुँदै

२७ जेठ काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपालको अन्तरराष्ट्रिय सीमासहितको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न पेश भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि सैद्धान्तिक छलफलको कार्यसूची राखिएको छ ।

सरकारले यही जेठ ७ गते नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्शा जारी गरेपछि सोहीअनुसार नक्शा र निशान छापलाई संविधानको अङ्ग बनाउन सर्वदलीय सहमतिका आधारमा संविधान संशोधन गर्न लागिएको हो ।
बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट शीर्षकमा मन्त्रालयगत छलफल सकिएपछि संविधान संशोधन विधेयकमाथिको छलफल कार्यसूचीमा राखिएको छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् । यही जेठ ९ गते सङ्घीय संसद् सचिवालयमा दर्ता भएको सो विधेयक जेठ १९ गते सदनमा पेश भएको थियो ।

यसैबिच प्रतिनिधिसभाको आजको बैठकमा पनि ‘विनियोजन विधेयक २०७७’ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफलमा उठेका विषयबारे सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी रहेको छ । बैठकमा आज ऊर्जा, जलस्रोत तथा सिंचाइ, शिक्षा विज्ञान तथा प्रविधि, सङ्घिय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह, रक्षा, अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्रीले जवाफ दिने कार्यक्रम छ ।

यसअघि सोमबार १३ मन्त्रालयको बजेट शीर्षकमाथि छलफल भएको थियो । आगामी बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय तथा उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेट शीर्षकमाथि पनि छलफल हुने जनाइएको छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संविधान) विधेयक २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछिन् ।