स्वास्थ्य

नेपालमा हालसम्म दुई लाख ५७ हजार ९६२ जनाको परीक्षण

२६ जेठ, काठमाडौँ । सरकारले आजसम्म जम्मा दुई लाख ५७ हजार ९६२ जनाको कोभिड–१९ परीक्षण गरेको छ । यो सङ्ख्या पिसीआर र आरडिटी विधिबाट गरिएको कूल परीक्षणको सङ्ख्या भएको मन्त्रालयले जानकारी दिएको छ ।

पिसीआर विधिबाट कूल एक लाख ९७१ व्यक्तिको परीक्षण गरिएको छ भने आरडिटीबाट एक लाख ५६ हजार ९९१ व्यक्तिको परीक्षण गरिएको आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । गत २४ घण्टामा पिसीआर विधिबाट चार हजार ७६६ र आरडिटी विधिबाट ११ हजार ९४२ गरी जम्मा १६ हजार ७०८ परीक्षण सम्पन्न भएको छ । हाल सातै प्रदेशमा गरी एक लाख ६६ हजार ६६८ जना क्वारेन्टिनमा रहेका छन् ।

सरकारले प्रयोगशालाको दायरा बढाउन गजेन्द्रनारायण प्रादेशिक अस्पताल राजविराजमा प्रयोगशालाको स्थापना भएको छ । अब सोही अस्पतालबाट पीसीआर परीक्षण हुनेछ । यससँगै देशभरमा प्रयोगशालाको सङ्ख्या २१ पुगेको छ । विभिन्न अस्पतालका आइसोलेशनमा कूल तीन हजार २६० व्यक्ति उपचाररत रहेको डा गौतमले जानकारी दिए ।

कोभिड–१९ का सङ्क्रमित उपचारपछि डिस्चार्ज हुनेको सङ्ख्या आज २१ जना रहेको छ । यीमध्ये २० जना पुरुष र एक जना महिला छन् । आज डिस्चार्ज हुनेमा सबै १३ देखि ५२ वर्षसम्मका छन् । बाँकेस्थित खजुराबाट नारयणापुरका २० जना पुरुष डिस्चार्ज भएका छन् । उनीहरु १५ देखि २० दिनमा डिस्चार्ज भएका हुन्।

कोभिड–१९ युनिफाइड अस्पतालबाट २३ वर्षिया महिला पाँचौँ दिनमा अस्पताबाट डिस्चार्ज भएका छन् । यससँगै अहिलेसम्म ४८८ जनाले कोभिड–१९ लाई जितेका छन् । तीमध्ये ४१९ पुरुष र ६९ महिला छन् । कोभिड–१९ का सङ्क्रमित दिनहुँ बढिरहे पनि निको भएर घर फर्कनेका सङ्ख्या पनि क्रमिक रूपमा बढ्दै गएको छ । आइतबार मात्रै एकै दिन १०२ जनाको कोभिड–१९ जितेर घर फर्केका थिए ।