समाचार

भारतबाट आएका नाबालकसहित आठमा सङ्क्रमण

२६ जेठ, प्युठान । दाङको गढवा गाउँपालिकामा भारतबाट आएका नागरिकमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट टेसिङमा प्युठानका दुई नाबालकसहित आठ सङ्क्रमित भेटिएका छन् । प्युठान नगरपालिकाका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये वडा नं २ का तीन र वडा नं ३ का पाँच जना छन् । सङ्क्रमित दुई वर्षीय बालक तथा १५, १६, १७, १८,१८,३२ र ३६ वर्षीय पुरुष छन् ।

यही जेठ ६ गते आएका गढवा गाउँपालिकाका दुई जनामा जेठ १५ गते पिसिआर पोजेटिभ देखिएपछि खोजी गरिएकामा प्युठान नगरपालिकाका सँगै आएका दुईसहित ३३ जनाको पिसिआर परीक्षणमा आज आठ जनाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।
भारतका चेन्नेइ, चण्डिगढ र जालन्धरबाट आएका उनीहरुलाई कृष्णनगरबाट प्युठान – ३ स्थित सरस्वती प्राविको क्वारेन्टिनमा राखिको थियो । उनीहरु क्वारेन्टिनको सम्पर्कमा आएपछि पोजेटिभ देखिएको प्रमुख सुवेदीले बताए । गढवामा पोजेटिभ देखिएकासँगै आएका ३१ मध्ये प्युठान नगरपालिकाका दुई तथा गाउँपालिका मल्लरानीका चार र सरुमारानीका २५ छन् । तीमध्ये सरुमारानीका एक जनामा आइतबार कोरोना पुष्टि भएको उनले बताए ।

उनीहरुसँंगै आएका सरुमारानीका १९ वर्षीय पुरुषमा आइतबार कोरोना पुष्टि भएपछि आज सोमबार आइसोलेशन अस्पताल दाङ पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

दम्पतीसहित १८ सङ्क्रमित
राजापुर– बर्दियामा आज एकैदिन १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिका मधुवन र बारबर्दियाका दुईदुई, ठाकुरबाबाका तीन र बाँसगढीका नौ गरी १८ कोरोना सङ्क्रमित थपिएका छन् । बारबर्दियामा पहिलो पटक कोरोना सङ्क्रमित हुने श्रीमान् र श्रीमती भएको बताइएको छ । बारबर्दिया –७ रम्मापुरका ३४ वर्षीय र ३३ वर्षीया दम्पतीमा कोरोना सङ्क्रमण पुष्टि भएको नगर प्रमुख दुर्गाबहादुर थारुले बताए ।

सुदूरपश्चिम प्रदेशको गौरीफन्टा नाकाबाट उनीहरु १६ दिनअघि भारतको राजस्थानबाट घर फर्केका थिए । उनीहरुलाई क्वारेन्टिनमा राखिएको थियो । कोरोना परीक्षण गरेर घर फर्काउने बेलामा रिपोर्ट पोजेटिभ आएको थियो । सङक्रमित दम्पतीलाई जयनगरस्थित आइसोलेशनमा राखिने नगर प्रमुख थारुले जानकारी दिए ।