बाग्मती

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गोदावरीमा ‘ह्याण्ड लेस ह्याण्ड वास सिस्टम’ प्रयोगमा

२६ जेठ, ललितपुर । गोदावरी नगरपालिकाले नगरक्षेत्रभित्र सात स्थानमा हात धुने प्रविधि अर्थात् ‘ह्याण्ड लेस ह्याण्ड वास सिस्टम’ प्रयोगमा ल्याएको छ ।

वातावरण र जनस्वास्थ्य संस्था (इन्फो) को आर्थिक सहयोगमा मुलुकमा दिनानुदिन बढिरहेको कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि केही स्थानमा उक्त प्रविधि राखिएको नगरपालिकाले जनाएको छ ।

मानिसको आवतजावत बढी हुने स्थान (जस्तै प्रहरी कार्यालय, स्वास्थ्य चौकी, बजार क्षेत्र र घनाबस्ती) मा पटकपटक हात धुने पानी, साबुन र स्यानिटाइजरको व्यवस्था गरिएको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, “हामीले यसलाई नगरपालिकाको कार्यालय अगाडि, बज्रबाराही चापागाउँ अस्पतालभित्र, वडा नं ३ को कार्यालय परिसर, थेचोको बुद्ध पोखरी, चापागाउँ ट्याक्सी पार्क, लेलेको तिलेश्वर मन्दिरभित्र र बाँडेगाउँ प्रहरी चौकी आसपास क्षेत्रमा राखिदिएका छाैँ ।”

सोे प्रविधिमा जडान गरिएको ड्रमको क्षमता ५०० लिटर पानी अट्ने रहेको छ । खट्टाले थिचेपछि त्यसबाट आफैँ पानी झर्छ । यसलाई हातले खोलेर पानी निकाल्नु नपर्ने इन्फाका कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठले बताए । उनले भने, “हामीले कोरोनाको जोखिम घटाउन आफूले सकेको सहयोग गोदावरीवासीलाई पु¥याउन खोजेका हाैँ ।”

यसैगरी ललितपुरमा रहेको अर्को महालक्ष्मी नगरपालिकालाई पनि पाँच थान सो प्रविधि सहयोग गर्ने अपेक्षाका साथ खरिद प्रक्रिया अघि बढाएको श्रेष्ठले जानकारी दिए ।