गण्डकी प्रदेश

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि काम हुँदै

२६ जेठ, पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बन्दाबन्दीयता भारतबाट सात हजार ५९ नेपाली गण्डकी प्रदेशमा भित्रनुभएको बताएको छ ।

प्रदेशसभाको आजको बैठकमा यसअघि सदस्यहरूले शून्य तथा विशेष समयमा उठाइएका प्रश्न तथा जिज्ञासाको जवाफ दिदैं उनले भने, “बन्दाबन्दीयता तेस्रो मुलुकबाट २८ जना नागरिक गण्डकी प्रदेशमा भित्रिएका छन् ।”

मन्त्री चुमानले अहिलेसम्म प्रदेशमा ११५ जनामा कोरोना सङ्क्रमण देखिएको बताउँदै कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयहरूलाई १५ लाख उपलब्ध गराएको जानकारी दिए । उक्त रकम कोरोना भाइरस जोखिम न्यूनीकरण, क्यारेन्टिन अनुगमन, आधारभूत स्वास्थ्य उपकरण खरिद, सुरक्षा र कर्मचारी परिचालनलगायतमा खर्च गरिएको बताउँदै उनले क्वारेन्टिनमा चाप बढिरहेका कारण प्रदेशभित्रका जिल्लामध्ये स्याङ्जालाई थप १५ लाख, नवलपुर, तनहुँ कास्की, बागलुङ र बाँकी जिल्लालाई पाँच लाख सोही प्रयोजनार्थ दिने आइतबारमात्रै निर्णय गरिएको जानकारी दिए ।

मन्त्री चुमानले हावाहुरी तथा बाढीले पारेको मानवीय क्षति सम्बन्धमा स्थानीय तहको सिफारिस, सुरक्षा निकायको मुचुल्का साथै जिल्ला प्रशासन कार्यालयको सिफारिससहित आएका अवस्थामा मन्त्रालयबाट राहत तथा सहयोग उपलब्ध गराउने गरिएको जानकारी दिँद मानवीयबाहेकका क्षतिका हकमा भने सम्बन्धित मन्त्रालयबाट समस्याको समाधान हुने गरेको बताए ।

शहीद, बेपत्ता घाइते राहत पुनःस्थापना कार्यान्वयनका सन्दर्भमा उनीहरूलाई केही न केही सीप सिकाउने तयारी गरिए पनि बन्दाबन्दीका कारण तालिम सञ्चालन गर्न नसकिएको उनले बताए ।

भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले मोदी गाउँपालिकाको नयाँपुलको मोदी खोला पुल निर्माणका क्रममा निर्माण व्यवसायीले निर्माण सामग्री व्यवस्थापन नगरी लापर्वाहीका कारण वरपरको बस्ती जोखिमपूर्ण भएको भन्ने आएका कारण निर्माण व्यवसायीलाई उक्त काम छिटो निर्देशन दिइएको बताए ।

पोखरा महानगरपालिका वडा नं ६ र १८ मा पर्ने सेती डाँडामा भत्केको बाटाको मर्मत कार्य शुरु भएको र छदी डाँडाको बाटो समस्या समाधान गर्न स्थलगत अनुगमन गर्न लगाइएको उनले बताए । उनले पोखरा महानगरपालिका वडा नं १२ माटेपानी गुम्बा आसपासको क्षेत्रमा भूक्षयका कारण गुम्बार आसपासका जोखिमी बढेको जानकारी पाएसँगै सो स्थानको स्थलगत अवलोकन गरेको जानकारी दिए ।

सामाजिक विकास मन्त्री नरदेवी पुनले वालिङको प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको चाप भएको तर चिकित्सक नभएको भन्ने गुनासो आएका कारण केन्द्रबाट आएका १३ जना डाक्टरमध्ये एकजना चिकित्सकलाई त्यहाँ पठाइएको बताउँदै सरकारले आरडिटीभन्दा पिसिआर परीक्षणलाई महत्व दिएको बताउँदै उनले पिपिइ, भिटिएमलगायत सामग्रीको राम्रै व्यवस्था गरेको जानकारी दिए । कोरोनाविरुद्ध खटिनेको तत्काल पिसिआर परीक्षण गर्न माग भए पनि भारतबाट आएका नागरिकको सङ्ख्या बढी भएका कारण उनीहरूको परीक्षणलाई प्राथमिकतामा राखिएको उनले बताए ।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले फेवातालमा आसपासका आठवटा खोलाबाट वार्षिक २७ लाख ८४ हजार २५० घनमिटर लेदो आउने गरेको जानकारी गराए । लेदो तथा गेग्रानका कारण ताल पुरिँदै गएका कारण प्रदेश सरकारले महानगरपालिकासँगको सहकार्यमा ५०/५० प्रतिशत लगानीमा कूल २८ करोड १६ लाखमा चारवटा सिल्टेसन ड्याम बनाइएको र लगभग ९० प्रतिशत काम सकिएको उनले जानकारी दिए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कोरोनाका कारण कृषि क्षेत्र प्रताडित भएको बताए । कृषि क्षेत्रमा श्रमिकको अभावका साथै बजार पहुँच प्रणाली असहज भएको बताउँदै उनले छिटो सड्ने कृषिजन्य वस्तुमा लकडाउनले प्रभाव पारेको बताए ।