बाग्मती

मेलम्ची नगरपालिकाले प्रत्यक्ष लाभान्वित हुने खालका नागरिकस्तरबाटै योजना माग

२६ जेठ, मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले प्रत्यक्ष लाभान्वित हुने खालका योजना नागरिकस्तरबाटै माग गरेको छ ।

नगरपालिकाले सार्वजनिक सूचनामार्फत नागरिकको गुनासो सम्बोधन गर्न र प्रत्यक्ष लाभान्वित हुने खालका योजना निर्माणका लागि नागरिकस्तरबाटै माग गरेको हो । यसका लागि योजना पेश गर्ने व्यक्तिले योजना वा कार्यक्रमको नाम, लागत अनुमान र उक्त योजनाको औचित्यलाई लिखितरुपमा पेश गर्नुपर्ने हुन्छ ।

सरकारले जतिसुकै आकर्षक नीति तथा कार्यक्रम ल्याए पनि कुनै न कुनै क्षेत्रमा हरेक वर्ष नागरिकको गुनासो आउने गरेको छ । नागरिकस्तरबाटै नीति तथा कार्यक्रमको माग आउँदा नागरिकको समस्या सम्बोधन गर्न सजिलो हुने नगरपालिकाले जनाएको छ ।

योजनालाई सम्बन्धित वडामा वा पालिकाको वेबसाइट र फेसबुक पेजलगायत विभिन्न सामाजिक सञ्जालबाट पठाउन सकिने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले जानकारी दिए । यसरी नागरिकस्तरबाटै योजनाको माग गर्दा जनताले प्रत्यक्षरुपमा लाभान्वित हुने मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले जानकारी दिए ।

यस्तै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले पनि नीति तथा कार्यक्रममा नागरिककै गुनासो सम्बोधन र प्रत्यक्ष लाभान्वित हुने योजनाको नागरिकस्तरबाटै माग गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै आवश्यक योजना कार्यक्रमको नाम, लागत अनुमान साथै उक्त योजनाको औचित्यसमेतलाई लिखितरुपमा माग गरेको हो ।