समाचार

सङ्क्रमितलाई धवलागिरि बहुमुखी क्याम्पसमा ‘प्रि–आइसोलेशन’

२६ जेठ, बागलुङ । बडिगाड गाउँपालिकाका नौजना सङ्क्रमितलाई धवलागिरि बहुमुखी क्याम्पसको ‘प्रि–आइसोलेशन कक्ष’मा राखिएको छ । धवलागिरि अस्पतालमा आइसोलेशन श्यया अपुग भएपछि आइतबार कोरोना पुष्टि भएका ती सङ्क्रमितलाई सो स्थानमा राखिएको हो ।

जिल्ला कमाण्ड पोष्टको निर्णयअनुसार अस्पताल नजिकै रहेको क्याम्पसमा ‘प्रि–आइसोलेशन कक्ष’ तयार गरी सङ्क्रमितलाई राखिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

अस्पतालको आइसोलेशन कक्ष सङ्क्रमितले भरिएपछि अस्पतालअन्तर्गत सञ्चालन हुने गरी क्याम्पसमा ‘प्रि–आइसोलेशन कक्ष’ बनाइएको हो ।

उक्त कक्षमा तत्काललाई २८ श्यया व्यवस्थापन गरिए पनि त्यसलाई बढाएर ५० पुर्याइने उनको भनाइ छ । सदरमुकामस्थित धवलागिरि अस्पतालमा सङ्क्रमितको चाप बढेपछि क्याम्पससहित गलकोट, बुर्तिबाङ र कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा ‘प्रि–आइसोलेशन कक्ष’ बनाउने निर्णय भएको थियो ।

तीनैवटा प्राथमिक स्वास्थ्य केन्द्रमा तत्काललाई १२÷१२ श्ययाको ‘प्रि–आइसोलेशन’ सञ्चालनका लागि तयारी थालिएको छ । आइतबार पुष्टि भएका ढोरपाटन नगरपालिकाका एकजना सङ्क्रमितलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको ‘प्रि–आइसोलेशन कक्ष’मा राखिएको छ ।

सो केन्द्रमा २५ श्यया विस्तार गर्न लागिएको जनाइएको छ । पुरुषका लागि २० र महिलाका लागि पाँच श्यया छुट्याइएको छ । बुर्तिबाङमै ‘प्रि–आइसोलेशन कक्ष’ तयार भएपछि अबदेखि जिल्लाको पश्चिम भेगमा भेटिने कोरोना सङ्क्रमितलाई सोही कक्षमा राखिने भएको छ ।

बडिगाड गाउँपालिकालगायत अन्य स्थानीय तहले समेत ‘प्रि–आइसोलेशन कक्ष’ सञ्चालनका लागि अग्रसरता देखाएका छन् । धवलागिरि अस्पतालको आइसोलेशन कक्षमा श्यया नभएपछि आइतबार भेटिएका सङ्क्रमितलाई कहाँ राख्ने भन्ने विषयमा शुरुमा अलमल देखिएको थियो ।

दुई दिनअघि निर्णय भए पनि क्याम्पसमा ‘प्रि–आइसोलेशन कक्ष’ बनिसकेको थिएन । हिजै हतारहतार ‘प्रि–आइसोलेशन कक्ष’ बनाएर सङ्क्रमितलाई राखिएको हो । स्वास्थ्य अवस्था सामान्य रहेका र लक्षण नदेखिएका सङ्क्रमितलाई ‘प्रि–आइसोलेशन कक्ष’मा राखिने धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताए ।

“लक्षण देखिएर उपचार गर्नुपर्ने भएमा मात्र अस्पताल ल्याउँछौँ, ‘प्रि–आइसोलेशन’मा पनि चिकित्सकीय निगरानी र नियमित स्वास्थ्य जाँच भने हुन्छ”, उनले भने । जिल्लामा अहिलेसम्म भेटिएका सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य छ ।

धवलागिरि अस्पतालको आइसोलेशन कक्षमा १७ जना सङ्क्रमित उपचाररत छन् । दुईजना कोरोनाका शङ्कास्पद बिरामी पनि आइसोलेशनमै छन् । अस्पतालमा २४ श्ययाको आइसोलेशन कक्ष रहे पनि लक्षण देखिएका सङ्क्रमितको उपचारका लागि पाँच श्यया छुट्याइएको छ ।

आइतबार थपिएका दशसँगै जिल्लामा कूल सङ्क्रमितको सङ्ख्या २९ पुगेको छ । तीमध्ये गत चैतमा सङ्क्रमित बागलुङ नगरपालिकाका दुई महिला कोरोनामुक्त भइसकेका छन् ।

भारतबाट आई स्थानीय तहका क्वारेन्टिनमा बसेका व्यक्तिको कोरोना परीक्षण बढाइएसँगै सङ्क्रमित भेटिन थालेका हुन् । स्वास्थ्य कार्यालयका अनुसार हालैमात्र भारतबाट आएका एक हजार ७०० जनाभन्दा बढी क्वारेन्टिनमा छन् ।