लुम्बिनी

बहुप्रतीक्षित नेपालगञ्ज–बघौडा हुलाकी सडक सम्पन्न

राँझा, २६ जेठ । बहुप्रतीक्षित नेपालगञ्ज–बघौडा सडक निर्माण चर्चा शुरु भएको दुईदशक बढी समयपछि निर्माण सम्पन्न भएको छ । करीब २३ वर्ष अघिदेखि सडक निर्माण शुरु भए पनि पटकपटकको अवरोध र अनिश्चितताका बीच बाँकेकै दुर्गम राप्तीपारि बघौडा क्षेत्रमा अवस्थित राप्तीसोनारी र नरैनापुर गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने ४४ किलोमिटर सडक निर्माण सम्पन्न भएपछि आवागमनमा सहज भएको छ ।

राप्ती नदीको बगर र फत्तेपुरमा निर्माणाधीन पुलबाहेक नेपालगञ्ज बसपार्कदेखि नरैनापुरको भारतसँग सीमाक्षेत्र कटकुइयाको सुइयासम्म नै कालोपत्रे सम्पन्न भएको छ । पुलको काम पनि धमाधम रहेको छ । कोरोना महामारी सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीमा पनि मजदूरले सामाजिक दूरी कायम गर्दै निरन्तर काम गरेका कारण सम्पन्न भएको सडक निर्माणको जिम्मा पाएको गणपति कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक तुल्सीराम भण्डारीले जानकारी दिएका छन् ।

कन्स्ट्रक्सनका फिल्ड व्यवस्थापक इन्द्र केसीले मजदूरलाई निश्चित दायराभित्र राखेर स्वास्थ्यावस्थामा प्रभाव नपर्ने गरी कामको व्यवस्था मिलाइएको बताए । ‘सामाजिक सुरक्षा र स्वास्थ्य ख्याल गरी हुलाकी सडक निर्माण गर्ने काम भइरहेको छ’, केसीले भने, ‘हाम्रो टिपर, मेसिन, सीमित मजदूर र कर्मचारीबाट सञ्चालन हुने भएकाले लकडाउनको नियमअनुसार अस्थायी क्याम्पमा बसेर काम गर्ने व्यवस्था गरेका हौँ ।’नरैनापुर तथा राप्ती सानारी गाउँपालिकालाई जिल्ला सदरमुकाम नेपालगञ्जसँग जोड्ने सडक निर्माण भएसँगै त्यस क्षेत्रका करीब एक लाख बासिन्दाले वर्षौंँदेखि खेप्दै आएको हिलो र धुलोको सास्ती अन्त्य भएको नरैनापुर गाउँपालिका वडा नं ३ का बासिन्दा एवम् पूर्वसंविधानसभा सदस्य दिनेशचन्द्र यादवले बताएका छन् ।

उनले  सो सडक निर्माण भएसँगै बघौडामा सडक पुर्याउने आफ्नो एउटा सपना पनि पूरा भएको बताउँदै भने,“पटकपटकको अवरोध र कठिनाइका बीच सडक निर्माणको काम सम्पन्न भएको छ । यो सडकले बघौडाबासीलाई सदरमुकामसँग जोडिएको अनुभूति गराएको छ । यसको स्तरोन्नतिका लागि पहल गरिसकिएको छ ।”

हुलाकी सडक योजना कार्यालय नेपालगञ्जका सूचना अधिकारी रामसागर हरिजनले बन्दाबन्दीमै पनि सरकारले राष्ट्रिय गौरवका योजनाको काम अगाडि बढाउने निर्णय गरेपछि हुलाकी सडकको काम सञ्चालन गर्न आवश्यक समन्वय गरेपछि निर्माण कम्पनीले काम गरेको बताए । उनले निर्माण कम्पनीलाई जिल्ला प्रशासन कार्यालय र हुलाकी सडक योजना कार्यालय नेपालगञ्जबाट काम सञ्चालन अनुमतिको पत्र बनाइदिएपछि बन्दाबन्दीमा पनि काम पुनः सञ्चालन भएको जानकारी दिएका छन् ।

भारत सरकारको सहयोगमा सो सडकको निर्माण २०१४ मार्च १९ मा सक्ने गरी भारतको जिभिआर इन्फ्र प्रोजेक्ट चेन्नाईले २०११ सेप्टेम्बर २० मा ठेक्का सम्झौता गरेको थियो । करीब तीन प्रतिशत काम गरेर निर्माण कम्पनी भागेका कारण सो सडकको निर्माण लामो समयदेखि अवरुद्ध बनेको थियो । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २०७२ सालमा सो सडकको निर्माण नेपालले आफ्नै लगानीमा गर्ने निर्णय गरेर बजेटसमेत विनियोजन गरेपछि काम अगाडि बढेको थियो । पप्पु लुम्बिनी जेभीले रु ६६ करोड ६ लाख ३६ हजार ८९० र पैसा ३६ को लागतमा डबल लेनको कालोपत्रे सडक निर्माण शुरु गरेको थियो । उक्त कम्पनीले पनि काममा ढिलासुस्ती गरेपछि पछिल्लो पटक गणपति कन्स्ट्रक्सनले कामको जिम्मेवारी पाएको थियो ।

नरैनापुरमा बिजुली

बाँकेको दुर्गम क्षेत्र नरैनापुर गाउँपालिकावासीको बिजुली बाल्ने धोको अब पूरा हुने भएको छ । बाइस वर्षदेखि हरेक निर्वाचनमा चुनावी नारा बन्दै आए पनि अहिले बन्दाबन्दी अवस्थामै नरैनापुरमा विद्युतीकरणले सार्थकता पाउँदै छ । एक जनाको ज्यान जानेगरी नरैनापुर गाउँपालिकामा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित भएपछि लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेशन केन्द्र सञ्चालन गर्नका लागि विद्युतीकरणमा सबै तहबाट पहल भई अहिले धमाधम विद्युतीकरणको काम भइरहेको छ ।

कोरोना महामारी फैलिएपछि बन्दाबन्दीमै शुरु भएको विद्युतीकरण अबको एक हप्ताभित्र सकिने भएको छ । अहिले नरैनापुर– ४ नरैनापुरमा विद्युत्को तार जडान गर्ने काम भइरहेको छ । वडा नं १ कटकुइँयासम्म नै विद्युतीकरणको काम छिट्टै सकिने ठेकेदार कम्पनीका प्रतिनिधि त्रिलोक धितालले जानकारी दिएका छन् । सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित उक्त क्षेत्रका बासिन्दा एवम् पूर्वसंविधानसभा सदस्य यादवले विगतमा ग्रामीण विद्युतीकरण समितिका नाममा काम अल्झिँदै आएकाले त्यसलाई स्थगन गरी विद्युत प्राधिकरणलाई जिम्मा दिइएसँगै विद्युतीकरणको कामले सार्थकता पाएको बताए ।

विद्युतीकरणको स्थलगत अनुगमन गर्न नरैनापुर पुग्नुभएका नेकपा केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री यादवले अहिले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रसम्म मात्रै विद्युतीकरणका काम गर्ने तयारी भएकामा सिंचाइ, जलस्रोत तथा ऊर्जामन्त्री वर्षमान पुन र प्राधिकरणका महानिर्देशकसँगको आग्रहपछि नरैनापुर गाउँपालिकाभरि नै विद्युतीकरणको काम हुन थालेको बताए ।

“प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा पु¥याउन थालिएको विद्युतीकरणलाई अहिले त्यहीँ छाडियो भने अन्य दुई वडामा पुर्याउन पछि फेरि झण्झट हुन सक्छ”, उनले भने, “त्यसैलै अहिले नै भारतको सीमासम्म सुइया बघौडामै विद्युतीकरणको काम गराउन लागिएको छ ।”नरैनापुरमा कोरोना महामारी फैलिएपछि आइसोलेशन केन्द्र सञ्चालनका लागि विद्युतीकरण गर्न उक्त क्षेत्रका प्रतिनिधिसभा सदस्य महेश्वरजङ्ग गहतराज र प्रदेशसभा सदस्य कृष्ण केसीले पनि निरन्तर चासो देखाउँदै आएका छन् ।

विद्युत् नहुँदा गाउँपालिकामा क्वारेन्टिन व्यवस्थापनमा समेत कठिनाइ भईरहेको बताउँदै अब भने विद्युत् आउनेमा आफु ढुक्क भएकोे गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । उनले विद्युत् आउनासाथ नरैनापुरको लक्ष्मणपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेशन अस्पताल बनाइने जानकारी दिनएका छन् ।