अन्तर्राष्ट्रिय

पूर्वसैनिक प्रमुख पावलको आरोपः राष्ट्रपति ट्रम्प संविधानदेखि टाढिए

२६ जेठ काठमाडौं । अमेरिकामा जारी जातिविरोधि आन्दोलनमा देशैभरी राष्ट्रपति डोनल्ड ट्रम्पको चर्को बिरोध भैरहेको छ । यसैक्रममा अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पावलले जातीयता विरोधी प्रदर्शनप्रति अपनाएको रवैयालाई लिएर राष्ट्रपति ट्रम्पको चर्को आलोचना गर्दै उनी संविधानदेखि टाढिएको बताएका छन् ।

पूर्व उच्च सैनिक अधिकारी समेत रहेका रिपब्लिकन नेता ट्रम्पको रवैयालाई लिएर आलोचना गर्नेहरूको सूचीमा पछिल्लो पटक थपिएका छन् । प्रदर्शनहरूलाई दबाउनका निम्ति सेना परिचालन गर्ने लगायत चेतावनी ट्रम्पले दिएका थिए । पावलले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा आफूले डेमोक्र्याटिक उम्मेदवार जो बाइडनलाई मत दिने समेत बताएका छन् । ट्वीट गर्दै ट्रम्पले पावललाई आवश्यकताभन्दा बढी महत्त्व पाएको व्यक्ति पनि भनेका छन् ।

अफ्रिकी–अमेरिकी पावल ज्वाइन्ट चीफ्स अफ स्टाफ रहिसकेका छन् । ट्रम्पको आलोचना गर्ने अमेरिकी पूर्व वरिष्ठ सैनिक अधिकारीहरूको पङ्क्तिमा उनी पनि उभिएका छन् । प्रहरी नियन्त्रणका क्रममा अफ्रिकी–अमेरिकी पुरुष जोर्ज फ्लोइडको मृत्युपछि जातीयता र प्रहरी दमनविरुद्ध प्रदर्शनहरू हुँदै आएको केही दिनपछि पछिल्लो विकासक्रम भएको हो । तनाव मत्थर हुँदै जाँदा आइतवारदेखि अमेरिकाभरि सुरक्षाका कदमहरू खुकुलो पारिएका छन् ।

न्यूयोर्कमा हप्तादेखि लगाइएको कर्फ्यू हटाइएको छ र ट्रम्पले वाशिङ्गटन डीसीबाट फर्कन न्याश्नल गार्डलाई आदेश दिन लागेको बताएका छन् । ट्रम्पलाई इङ्गित गर्दै अवकाशप्राप्त चारतारे सैनिक जनरल पावलले भनेका छन्ः उनी झूट बोल्छन् र त्यसबाट फुत्किन्छन् । किनकि मानिसहरूले उनलाई जवाफदेही बनाउँदैनन् ।

अमेरिकी लोकतन्त्रका लागि ट्रम्पका अभिव्यक्तिहरू खतरनाक भएको भन्दै पावलले भने, यस पटक चुनावमा म राष्ट्रपति ट्रम्पलाई निश्चित रूपमा कुनै प्रकारको सहयोग गर्न सक्दिनँ ।