खेलकुद

बढैयातालमा प्रदेशस्तरीय क्रिकेट मैदान बन्ने

गुलरिया, २६ जेठ । बढैयाताल गाउँपालिका २ सीतापुरमा प्रदेशस्तरीय क्रिकेट मैदानको शिलान्यास भएको छ । गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ र अमरज्योति माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष तथा समाजसेवी दुर्गादत्त शास्त्रीले आइतबार मैदान शिलान्यास गरेका छन् ।

बर्दिया जिल्ला क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र गाउँपालिकाको पहलमा बढैयाताल २ विद्यालयको खेल मैदानमा पहिलो चरणमा रु ४६ लाखमा प्रदेशस्तरीय क्रिकेट मैदान निर्माण हुन लागेको समाजसेवी शास्त्रीले बताए ।

गाउँपालिका अध्यक्ष श्रेष्ठले क्रिकेट खेलप्रति स्थानीय युवामा देखिएको रुचि र देशले अन्तरराष्ट्रय तहमा नेपाली क्रिकेट खेलले पाएको सफलतालाई ध्यानमा क्रिकेट मैदान निमार्ण गर्न लागिएको जानकारी दिएका छन् ।

खेल मैदान निमार्णका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदनानुसार रु १८ करोड आवश्यक पर्ने भए पनि क्रमागत रुपमा बजेटको व्यवस्था गर्दै निर्माणको काम अघि बढाइने जनाइएको छ ।