पु.समाचार

विद्युतीय सवारी साधन आयात निर्णय पुनरवलोकन गर्न नेत्री पम्फा भुसाल माग

२५ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) की नेत्री पम्फा भुसालले बजेटमा गरीबीको रेखामुनि रहेका केही प्रतिशत जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने कार्य सुधारोन्मुख रहे पनि अपर्याप्त रहेको बताएका छन्। प्रतिनिधिसभामा विनियोजन विधेयक २०७७ का विभिन्न शीर्षकमाथि जारी छलफलमा भाग लिँदै उनले विकासको आधारभूत पूर्वाधार विद्युत् भएकाले ऊर्जा उत्पादनमा राज्यले लगानी गर्नुपर्छ भने ।
नेत्री भुसालले भने, “सिंचाइँ र खानेपानीका लागि जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउनुपर्छ, पार्टीको चुनावी घोषणापत्र र समाजवादउन्मुख अर्थतन्त्रलाई अघि बढाउन कृषिमा आधारित उद्योग, पर्यटन र ऊर्जा क्षेत्रलाई प्राथमिकीकरण गरी लगानी गर्नुपर्छ । विद्युतीय गाडी आयात र भन्सार शुल्कसम्बन्धी निर्णय राष्ट्रहितका पक्षमा नभएको भनी पुनरवलोकन गर्न उनले सरकारलाई सुझाव दिए ।

सोही दलका विरोध खतिवडाले झोलुङ्गे पुललाई चारपाङ्ग्रे साना सवारी साधन चल्न सक्ने गरी स्तरोन्नति गराउन र गाँजाखेतीका लागि कानून सशोधन गर्न सुझाव दिए । उनले भने, “हामी सबैजसो जेलमा बसेर आएको हुँदा त्यहाँको समस्याबारे हामी भुक्तभोगी छौँ, जेलको अवस्था अहिले पनि दयनीय छ, त्यसैले जेलको सुधार र सीमास्तम्भ रक्षाका लागि सरकारको विशेष ध्यान पुगोस् ।”

नेकपाकै बृजेशकुमार गुप्ताले शिक्षा क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण र पाठ्यक्रममा सुधारको खाँचो औँल्याए । सोही दलका प्रभु साहले बजेटका विषय सम्बन्धित समितिमा गरियोस् भन्दै बजेट मन्त्री र मन्त्रालयका कर्मचारीको मनखुशमा परेको आरोप लगाए । उनले प्राकृतिक प्रकोप रोक्न कार्यक्रम आवश्यक रहेकामा जोड दिए। सैनिक अदालतमा रहेका मुद्दा सत्य निरुपण आयोगमा ल्याउन पनि उहाँले माग गरे ।
नेकपाका छविलाल विश्वकर्माले कोरोना कहर, सीमाको घाउ र रुकुम घटनाले नेपाल र नेपालीको मन दुखेको बताए । उनले भने, “सीमा सुरक्षाका लागि खटिएका सुुरक्षाकर्मीका लागि सेवा, सुविधा र बस्न पूर्वाधार निर्माण होस्, कोभिड–१९ नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मीलाई आवश्यक पिपिई उपलब्ध होस्, रुकुम घटनामा संलग्न अपराधीलाई कानूनी दायरामा ल्याइयोस ।”

सोही दलकी कल्याणीकुमारी खड्काले विद्युतीय सवारी साधनसम्बन्धी नीति ठीक नभएको जनाउँदै सच्याउन सुझाव दिए । उनले भने, “चकलेट र पीठोमा गरिएको भन्सारसम्बन्धी व्यवस्था ठीक छैन, सीमालाई नियमन गर्न ठोस कार्यक्रम ल्याइयोस्, विपन्नलाई राहत दिइयोस्, बजेटमा विनियोजनमा केहीको मात्र पहुँच देखिएको छ, त्यसलाई सच्याइयोस् ।”
नेकपाका यज्ञ सुनुवारले शिक्षा क्षेत्रको सुधारका लागि टालटुले नभई व्यापक सुधारको खाँचो रहेको औँल्याए। सेनालाई दक्ष र व्यावसायिक बनाए पनि व्यापार र व्यवसायमा लगाउन नहुने सुझाव उनले दिए ।