गण्डकी प्रदेश

बन्दाबन्दीबाट प्रभावित घरपरिवारलाई देवघाट गाउँपालिकाद्वारा राहत वितरण

२५ जेठ, दमौली . तनहुँको देवघाट गाउँपालिकाले कोभिड–१९ को नियन्त्रण र बन्दाबन्दीबाट प्रभावित घरपरिवारलाई राहत वितरण गर्दा ४३ लाख खर्च भएको जनाएको छ । गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचार कोषबाट ४३ लाख ७७ हजार ९६० खर्च भएको जनाएको हो ।

सो कोषमा ५५ लाख ५५ हजार १४५ जम्मा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए । गाउँपालिकाले बन्दाबन्दीका क्रममा दुई चरणमा गरी दुई हजार १५१ घरपरिवारलाई राहत वितरण गरेको थियो । राहत वितरणमा मात्रै ३० लाख ९४ हजार ६२४ खर्च भएको गाउँपालिकाले जनाएको छ ।

उनका अनुसार वडा नं १ मा ४४०, वडा नं २ मा २८४, वडा नं ३ मा २२८, वडा नं ४ मा ४३१ र वडा नं ५ मा ७६८ घरपरिवारलाई राहत वितरण गरिएको छ ।

गाउँपालिकाले कोरोना सङ्क्रमणबाट बच्नका लागि दुई हजार ५०० थान सर्जिकल मास्क, ११० थान एन ९५ मास्क, १० थान व्यक्तिगत सुरक्षा सामग्री -पिपिइ_, आठ थान इन्फ्रारेड गन, २५० थान स्यानिटाइजर, २० थान क्वारेन्टिनका लागि शै्यया, ३० थान तन्ना, चार हजार ४६८ थान साबुन, पाँच थान इलेक्ट्रिक स्प्रे र ३६० थान फिनेल खरिद गरेको जनाएको छ ।

गाउँपालिकालाई सांसद कृष्णकुमार श्रेष्ठले एक हजार ५०० थान सर्जिकल मास्क र छ थान पिपिइ सहयोग गरेको थियो भने नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले २०० थान सर्जिकल मास्क, १०० मिली स्यानिटाइजर ५० थान उपलब्ध गराPको थियो । काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले एक थान इन्फ्रारेड गन गाउँपालिकालाई उपलब्ध गराए ।

यसैबीच देवघाट गाउँपालिकाले वडा नं ५ मा गरिएको राहत वितरण कार्य पारदर्शी भएको जनाएको छ । वडा नं ५ भएको राहत वितरण अपारदर्शी भएको भन्दै नेपाली काँग्रेस गाउँ कार्य समितिले केही दिनअघि आरोप लगाए पनि गाउँपालिकाले भने राहत वितरण कार्य पारदर्शी नै भएको दाबी गरेको छ ।

गाउँपालिका उपाध्यक्ष एवं राहत व्यवस्थापन तथा वितरण गाउँ समन्वय समितिकी संयोजक विमला थापाले प्रेस विज्ञप्ति जारी गरी राहत वितरण कार्य पारदर्शी नै भएको बताए । वडा नं ५ का लागि केही दाताले दिएको माइतीघर ब्राण्डको जिरा मन्सुली चामल साटफेर गरी त्योभन्दा धेरै परिमाणमा सोना मन्सुली चामल वितरण गर्ने वडा नं ५ का अध्यक्ष यालबहादुर गुरुङले प्रक्रिया शुरु गरे पनि पछि त्यस निर्णयमा केही असमझदारी उत्पन्न भएपछि सो निर्णय रद्ध भएको थियो ।