प्रदेश 2

सिरहाका व्यवसायीले गरे लकडाउन खुला

२५ जेठ, लहान । सिरहाको विभिन्न शहरका पसल अघोषितरुपमा खुला हुन थालेका छन् । लकडाउन जारी रहँदा व्यवसायीले अघोषितरूपमा पसल सञ्चालन गर्न थालेका हुन् । जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा लहानले आलोपालो पसल खोल्न पहल गरेपछि व्यवसायीले पसल अघोषितरूपमा खोल्न थालेको स्थानीय व्यापारीले बताएका छन् । लहान, गोलबजार, धनगढीलगायतका बजारमा किराना पसलसँगै कपडा, सुनचाँदी तथा कस्मेटिकलगायतका पसल खुलेपछि चहलपहल बढ्न थालेका छन् ।

जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएका बेला बजार, पसल खुल्न थालेपछि थप जोखिम बढेको स्थानीयवासी बताए । लहान नगरपालिकाभित्र मात्रै आठ कोरोना सङ्क्रमित भेटिएको र जिल्लाभरि अझ बढ्ने क्रममा रहेका बेला बजार पसल खुल्नुले त्रास बढेको लहान नगरपालिका–४ का सन्तोष गुप्ताले बताए ।

“बजारमा पसल खुलेपछि भीडभाड बढन थालेको छ”, उनले भने, “बजार खुलेपछि जति गरे पनि सामजिक दूरीको पालना हुँदैन र जोखिम बढ्ने निश्चित छ ।” तरकारी बजार, माछा मासुलगायतका पसलमा भीडभाड बढ्न थालेकाले सचेतना अपनाउनुपर्ने उनको भनाइ छ । पसल खुल्न थालेपछि भीडभाड बढे ठूलो जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाएर व्यापार गर्न लहान नगरपालिकाका प्रमुख मुनी साहले आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईँले उद्योगीले प्रशासनसँग कुनै अनुमति नलिइ अघोषितरुपमा पसल खुला गरेको हुँदा भीडभाड भए कुनै बेला बन्द गराउने बताए ।

सडक कालोपत्र शुरु

लकडाउन जारी रहँदा लहान नगरपालिका–१५ ढोढनास्थित धार्मिक पर्यटकीय क्षेत्र पञ्चावती राजदेवी मन्दिरसम्म पुग्ने सडकको कालोपत्र कार्य शुरु गरिएको छ । लहान नगरपालिका–१८ खुटी पारी भदैयादेखि मन्दिरसम्म करिब पाँच किलोमिटर सडकमा नगरपालिकाले सो कार्य शुरु गरेको हो ।

नगर प्रमुख साहले सडक कालोपत्र गर्ने कार्यको शुभारम्भ गर्नुहुँदै सडक कालोपत्र भएपछि मन्दिर आउने जाने श्रद्धालुका लागि मात्रै सहज नभएर उत्तरीभेगको विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । सो सडक कालोपत्रका लागि रु छ करोडमा बोलपत्र लागिसकेकाले कामको गुणस्तरीयता र समयमा सम्पन्न गर्न निगरानी सबैले गर्नुपर्ने खाँचो उनले औँल्याए ।