समाचार

चितवन मेडिकल कलेज पिसिआर प्रयोगशाला हस्तान्तरण गर्न तयार

२५ जेठ, चितवन । चितवन मेडिकल कलेजलेले सञ्चालनको तयारी अवस्थामा रहेको आफ्नो पिसीआर परीक्षण प्रयोगशाला सरकारलाई हस्तान्तरण गर्न तयार रहेको जनाएको छ ।
कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले कोरोना भाइरसको जोखिम हुन नदिन परीक्षणका लागि जनशक्ति सहित प्रयोगशाला तयारी अवस्थामा रहेको हुँदा सरकारलाई हस्तान्तरण गर्न तयार रहेको जानकारी दिए । उनले यसम्बन्धीपत्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पठाएको बताए ।

उनका अनुसार कलेजमा प्रयोगशाला सञ्चालनका लागि सात अनुभवी जनशक्ति रहेका छन् । ती जनशक्तिले भरतपुर कोभिड–१९ प्रयोगशालामा समेत शुरुआतीचरणमा काम गरेका थिए । अहिलेपनि कलेजकै दुई जनशक्ति प्रयोगशालामा कार्यरत रहेका छन् ।

कलेजले अनुमति पाएमा परीक्षण गर्न सक्ने भए पनि सरकारी तवरबाटै प्रयोगशाला सञ्चालन गर्न उपयुक्त हुने आफ्नो सुझाव रहेको उनले बताए । यस प्रयोगशालामा दैनिक २०० भन्दा बढी नमूनाको परीक्षण गर्न सकिने उनको भनाइ छ । त्यहाँ लाग्ने खर्च सरकारी तवरबाट गरेर काम गरेमा अहिले पालो कुरेर राखिएका नमूनाको समयमा परीक्षण गर्न सकिने देखिएको छ । भरतपुर कोभिड–१९ प्रयोगशाला स्थापनामा उनी सक्रिय भूमिका रहेको थियो । उनले तत्कालीन समयमा पनि मेडिकल कलेजमा प्रयोगशालाका लागि ठाउँ दिन तयार रहेका जनाएका थिए ।

हाल भरतपुर अस्पतालले सञ्चालन गरेको प्रयोगशालामा चितवन, मकवानपुर, नवलपुर र कपिलवस्तुका नमूना परीक्षण भइरहेको छ । यस मेडिकल कलेजले निजी क्षेत्रबाट कोभिड–१९ नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । कोभिड क्लिनिकमा दैनिक पाँच/छ बिरामी हेर्दै आएको जनाएको छ । यहाँ सञ्चालनमा आएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा २० श्ययालगायतका उपकरण र जनशक्ति चितवन मेडिकल कलेजले सहयोग गरेको छ ।