प्रदेश 2

सभापतिज्यू, डा आरजु राणालाई अनुशासनको कारबाही किन नगर्ने?

कमलेश पटेल/ विश्व अहिले कोरोनाको महामारीले गर्दा सम्पुर्ण मानवजाती माथी नै ठूलो चुनौती थपिएको छ। खासगरी हामी नेपालीलाई कोरोनाको महामारीसंगै भारतले नेपाली भुमी आफ्नो नक्सामा छापेर चुनौती दिइरहेको बेलामा हामी सारा पार्टीका नेता, कार्यकर्ता साथमा एकजुट भएर तपाईसँगै उभिएका छौं। चुनावमा पार्टीको लज्जास्पद हारपछि सबै कार्यकर्ताको मन छिन्नभिन्न भएको अवस्था थियो।

त्यो बेला तपाईंले न हारको जिम्मेवारी लिनु भयो न कार्यकर्तासंग भेटेर घाउमा मल्हम लगाउनु भो। तर आफ्नो हारलाई केही वास्ता नगरी डा शेखर कोइराला देश दौडाहामा निस्कनु भयो र कार्यकर्ताको मनोबल उच्च राख्ने काम गर्नुभयो। कार्यकर्ताको दुःखमा दुर–दराज पुगेर डा शेखरले सान्तवना दिने काम गर्नुभयो। त्यति मात्र हैन अहिले गरिब, मजदुरको चुलो चलाउन सकेसम्म सहयोग गरिराख्नु भएको छ। पछिल्लो केन्द्रिय समितिको बैंठकमा लकडाउनको कारणले उपस्थित हुन नसकेका शेखर कोइरालाले पार्टिको निर्णयमा प्रतिबद्ध रहेको भनिसक्नु भएको छ।

यस्तोमा तपाइँकी धर्मपत्नी तथा नेत्री आरजु राणा देउवाले शेखर कोइरालाको राष्ट्रियता माथि प्रश्न उठाएर न्युज लेख्न लगाउनु र आफै शेयर गर्नुले तपाइको मात्रै हैन सम्पुर्ण लोकतन्त्रबादिको शिर निहुरेको छ। हामीलाई लज्जाबोध भएको छ। बोली अबरुद्ध भएको छ। सभापति पत्नीबाट लोकप्रिय र राष्ट्रवादी छबी बनाएको नेतामाथी यस्तो दुस्साहस कसरी भयो? आज आम कांग्रेसजन अचम्मित परेका छन्। बिगतमा गल्ती गर्दा गिरिजाप्रसाद कोइरालाले प्रकाश कोइरालालाई कार्बाही गरेको इतिहासलाई नबिर्सनुस र आरजु राणालाई अनुशासनको दायरामा ल्याएर कारबाही गर्नोस पार्टीको साख बचाउनुहोस्।
(प्रश्नकर्ता नेविसंघका नेता हुन् ।)