बाग्मती

लकडाउनका बेलामा रगतको अभाव हुन नदिन आकस्मिक रक्तदान

२४ जेठ, भक्तपुर । मिलन युवा क्लब, बालकोट र नेपाल रेडक्रस सोसाइटी बालकोट युवा सर्कलको आयोजनामा आज सूर्यविनायक नगरपालिका–२ धारापाटीमा ५९ व्यक्तिले रक्तदान गरेका छन् ।

कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले जारी गरेको लकडाउनका बेलामा रगतको अभाव हुन नदिन भएको रक्तदानमा युवादेखि दम्पतीसम्मले एकैपटक रक्तदान गरेका छन् । यसअघि २० पटक रक्तदान गरिसकेका अनिल श्रेष्ठ र १५ पटक रक्तदान गरेकी उनकी पत्नी एवं वडा नं २ की महिला जनप्रतिनिधि कान्छी श्रेष्ठलेसँगै रक्तदान गरेको हो ।

अनिलले भने, “हामी श्रीमान् श्रीमतीले धेरैपटक रक्तदान गर्यौँ तर सँगै गर्ने अवसर जुरेको थिएन, आज भने दुवैलेसँगै रक्तदान गर्न पाइयो, यसले अरुलाई पनि रक्तदान गर्न हौसला मिल्छ भन्ने अपेक्षा गरेका छौँ ।”

त्यसैगरी नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा १४ महिलासहित ५५ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार सेवा केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा चाँगुनारायण नगरपालिका–६ स्थित गीता मन्दिर प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा सामाजिक दूरी कायम गरी रक्तदान गरिएको उपशाखाका सभापति सोम शर्मा (बजगाईं) ले जानकारी दिए ।

त्यसैगरी बालकोटका युवाले झरीमा पनि आज भक्तपुर र ललितपुरको सिमाना भएर बग्ने गोदावरी खोलामा सफाई गरेका छन् । नदीमा पुनःफोहर जम्मा भएको र खोलामा आएको बाढीले पुलमा ल्याएर फोहर थुपारेपछि लकडाउन र झरीमै नदी सफाइ गरिएको हनुमन्ते सफाइ अभियानमा युवा जयराज पौडेलले जानकारी दिए ।

सरसफाइ अभियानमा मनोहरा सफाइ अभियन्ता चन्द्र दङ्गाल, द रेयुकाई नेपालका पुष्कर गजुरेललगायतका अभियानकर्मीको नेतृत्वमा गोदावरी खोला, ढुङ्ग्रे खोला पुल, दोभान र बाटकोट मटार जाने पुलको सफाइ गरिएको हो ।