प्रवास

विदेशबाट २५ हजार मात्रै होईन, आफ्नो घर आउन चाहने सबैलाई फिर्ता ल्याऊ– काँग्रेस

२४ जेठ, काठमाडौं । नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले विदेशबाट २५ हजार मात्रै होईन, आफ्नो घर आउन चाहने सबैलाई फिर्ता ल्याऊनुपर्ने बताएका छन् ।

उनले नेपाली कांग्रेसले कोरोना भाइरसको महामारी सुरु हुँदाकै समयदेखि विदेशमा रहेका घर फर्कन चाहने नेपाली नागरिकलाई सरकारले फिर्ता ल्याउनु पर्छ भन्ने धारणा राख्र्दै आएको भन्दै पुनः उक्त कुरालाई दोहोर्याएका छन् ।

नेता भट्टराईले विज्ञप्ती जारी गर्दै पुन सरकारलाई ५ बुंदे ध्यानाकर्षण गराएका छन् ।

उनको विज्ञप्तीः
नेपाली कांग्रेसले कोरोना भाइरसको महामारी सुरु हुँदाकै समयदेखि विदेशमा रहेका घर फर्कन चाहने नेपाली नागरिकलाई सरकारले फिर्ता ल्याउनु पर्छ भन्ने धारणा राख्र्दै आएको थियो । मैलै गत बैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेर विदेशमा रहेका नेपालीहरुलाई फिर्ता ल्याउन पहल गर्न आग्रह गरेको थिए । ढिलै भएपनि सरकारले विदेशमा अलपत्र परेका तथा स्वदेश फर्कन इच्छुक नेपालीहरुलाई ल्याउने प्रक्रिया सुरु गरेको छ । त्यसको लागि म नेपाली कांग्रेस जनसम्पर्क समन्वय समितिको तर्फबाट सरकारलाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।
तर, नेपाल ल्याउनु मात्रै उपलव्धि नभई अब तत्कालिन र दीर्घकालिन योजना बनाएर काम गर्ने समय पनि आएको छ । कोरोना भाइरसको महामारी कहिले अन्त्य हुन्छ भन्ने अन्यौलताले हुन सक्ने आर्थिक मन्दी समेतलाई ध्यानमा राखेर विदेशमा रहेका नेपालीहरु भोलीका दिनमा ठूलो संख्यामा घर फर्कनुपर्ने अवस्था आउन पनि सक्छ ।
तसर्थ म नेपाल सरकारलाई तत्काल निम्न अनुसारका कार्य अघि बढाउन अनुरोध गर्न चाहन्छु ।

(१) विदेशबाट ल्याईएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सबैको कोरोना भाइरस पीसीआर विधिबाट परिक्षण गरियोस् । र, विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारको क्वारेन्टिन वा अन्य प्रवन्ध मिलाईयोस् ।

(२) सरकारले विभिन्न देशमा रहेका २५ हजार नेपालीलाई फिर्ता गर्ने तथ्यांक सार्वजनिक गरेको छ । विदेशका जुकसुकै पनि कुनामा रहेका नेपालीहरुलाई आफ्नो घर फर्कन पाउने अधिकार छ । तसर्थ सख्या तोक्ने होईन, आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउनु पर्छ ।

(३) आर्थिक बर्ष २०७६/७७ को सरकारको नीति तथा कार्यक्रममा विदेशमा रहेका ५ लाख नेपालीलाई स्वदेश फिर्ता गरेर रोजगारीमूलक काममा लगाउने उल्लेख गरिएको थियो । सायद त्यो कार्यन्वयन त भएन होला, तर त्यसलाई कोरोना महामारीका बेला अहिले कार्यन्वयन गर्न सकिने समय आएको छ । तसर्थ विदेशबाट फिर्ता भएका नेपालीहरुलाई रोजगारीमूलक काम दिनेगरी तत्काल विषेश कार्यक्रम घोषणा गरेर कार्यन्वयन गर्नु पर्दछ ।

(४) विदेशमा रहेर कोरोनाका कारण रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्ने नागरिकहरुलाई सरकार आफैले खर्च गरेर वा सम्वन्धित मुलुकका सरकारसँग कुटनीतिक पहल गरी उनीहरु कार्यरत कम्पनी वा सरकारको लगानीमा नेपाल ल्याउन प्रवन्ध गर्नुपर्छ ।

(५) विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुले कोभिड १९ का कारण रोजगारी गुमाएको अवस्था छ । उनीहरुलाई अहिले अध्ययनरत कलेज तथा विश्वविद्यालयले शुल्क तिर्न ताकेता गरिरहेका छन् । रोजगारी पनि नहुने र नेपालबाट पैसा पठाउन पनि सहज नहुदा उनीहरुको विचैमा पढाई छुट्ने अवस्था आउने देखिएको छ । तसर्थ सरकारले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई शुल्क तिर्नका लागि नेपालबाट पैसा पठाउने सहज प्रवन्ध मिलाउन आग्रह गर्दछु ।

जय नेपाल!