समाचार

सङ्खुवासभामा आगलागीबाट १८ लाखभन्दा बढी क्षति

२४ जेठ, खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिकामा आगलागी हुँदा १८ लाखभन्दा बढीको क्षति भएको छ । आगलागीबाट चिचिला–४ का कर्णकुमार गुरुङको घर जलेर नष्ट भएको चिचिला गाउँपालिका अध्यक्ष पासाङनुर्व शेर्पाले जानकारी दिए । खाना पकाउने चुलोबाट अचानक आगलागी हुँदा गुरुङको घर जलेर नष्ट भएको छ ।

आगलागीले घरमा रहेको खाद्यान्न, लत्ताकपडासहित सम्पूर्ण सामान जलेर नष्ट भएको अध्यक्ष शेर्पाले बताए । शुक्रबार दिउँसो घरमा कोही नभएको अवस्थामा चुलोमाथि राखेको डोको झरेर आगो सल्केको पीडित गुरुङले बताए। घरमा मान्छे नभएका कारण समयमा आगो नियन्त्रण गर्न नसक्दा घरमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको पीडित गुरुङले बताए ।