पर्यटन/संस्कृति

माईपोखरी क्षेत्रको पर्यटक पूर्वाधार गुरुयोजना कार्यान्वयन

२४ जेठ, पशुपतिनगर । पूर्वी पहाडको पहिलो रामसार क्षेत्र इलामको माईपाखेरीमा पर्यटन पूर्वाधार निर्माणको कामले तीव्रता पाएको छ । माईपोखरीलाई सन् २००८ मा विश्व रामसार सूचीमा सूचीकृत गरिएको थियो । रामसार क्षेत्रमा सूचीकृत भएपछि पाँच वर्षे गुरुयोजना बनाइए पनि आर्थिक स्रोत अभावले कार्यान्वयन हुन सकेको थिएन ।

सङ्घीय सरकारले घुम्नैपर्ने सय पर्यटकीयस्थलमा घोषणा गरी पूर्वाधार र संरक्षणको कामका लागि बजेट प्रदान गरेसँगै अहिले पर्यटन पूर्वाधार र संरक्षणका काम धमाधम भइरहेका हुन् । सदरमुकाम इलाम बजारबाट १३ किलोमिटर यात्रामा पुगिने माईपोखरी क्षेत्रमा अहिले पर्यटकको आकर्षण केन्द्र बनाउन पूर्वाधार निर्माण र जैविक विविधताको संरक्षणको काम गरिँदै आएको हो ।

सन्दकपुर गाउँपालिकाले माईपोखरीलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन चालू आर्थिक वर्षमा डिपिआर तयार पारेको थियो । डिपिआरको आधारमा सङ्घीय सरकारको पर्यटन मन्त्रालयबाट ५० लाख बजेट विनियोजन भई पर्यटन पूर्वाधार निर्माणको काम भइरहेको गाउँपालिका अध्यक्ष उदयबहादुर राईले बताए । बहुवर्षे योजनामा स्वीकृत भएपछि सङ्घीय सरकारले माईपोखरी क्षेत्रको जोरपोखरी पर्यटकीय पूर्वाधार विकास आयोजनाको नाममा बजेट विनियोजन गर्दै आएको छ ।

धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा प्रख्यात रहेका माईपोखरीमा चालू आवमा स–साना पोखरीको मुहान संरक्षणसँगै लोपोन्मुख वन्यजन्तु ठकठकेको संरक्षण गरिँदै आएको छ । पोखरीको जलाशय क्षेत्र वरिपरि रहेका दुईवटा स–साना पोखरीको संरक्षण गर्ने, आकाशे पुल निर्माण गर्ने, कफी शप, सार्वजनिक शौचालय, रेलिङ र दुई पोखरीको बीचमा झोलुङ्गे पुलसहितको पदमार्ग बनाउने योजना डिपिआरमा समेटिएको छ ।

रामसार क्षेत्रमा रहेका पोखरीलाई चालू आवमा जोड्न ड्याम निर्माण गर्ने काम भइरहेको उपभोक्ता समितिका सचिव दिनेश ढकालले बताउनुभयो । जलाशय क्षेत्रको नजिक जैविक विविधताको महत्वका कारण पूर्वाधार निर्माणको काम उपभोक्ताबाट हुँदै आएको छ । स्थानीय सरकारको पहल र सङ्घीय सरकारको समन्वयमा बनाइएको डिपिआरअनुसार साढे सात करोडका संरचना निर्माण गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए।

आव २०७७÷७८ मा सङ्घीय सरकारसँग डिपिआरअनुसारको बजेट माग गरिएको र दुई वर्षभित्रमा घुम्नै पर्ने आकर्षक पर्यटकीयस्थल बनाउन पूर्वाधार निर्माणको काम थालिएको राईको भनाइ छ । साक्षात् देवीका रुपमा धार्मिक विश्वास गरिएको मानिने माईपोखरी पुग्ने धार्मिक पर्यटकले चिताएको मनोकाङ्क्षा पूरा होस् भनी भाकल गर्ने र परेवा उडाउने गर्दै आएका छन् । हिन्दू, बौद्ध र किराँत मुन्धुम सबै धर्मको आस्थाको केन्द्र माईपोखरीमा वैशाख १ गते नयाँ वर्ष र हरिबोधनी ठूली एकादशीका दिन विशेष पूजा र मेला लाग्ने प्रचलन छ ।

माईपोखरीको उत्पत्ति भारत वर्षका मरुत राजा आई नौवटा कुनामा नौ मन्दिर निर्माणपछि नवदुर्गाको पूजा गरेपश्चात् पूजास्थल सुरक्षित राख्न गङ्गाजीको आराधना गर्दा जल उत्पन्न गरिएको किंवदन्ती पाइन्छ । किंवदन्तीअनुसार पुरातनकालमा पोखरीमा खसेका पात पतिङ्गर चराले सधैँ सफा गर्ने, पञ्चेबाजा, शङ्खघण्ट बज्ने गरेको र पोखरीबाट एक प्रकारको अनौठो ज्योति निस्कने र लोप हुने गरेको कथन छ ।

प्रदेश नं १ को सांस्कृतिक सभ्यताका रुपमा रहेका माईपोखरीमा दैनिक १५० सम्म पर्यटक पुग्ने गरेका छन् । नौवटा कुनामा फैलिएको माईपोखरी क्षेत्रमा विश्वमा लोपोन्मुख गलैचे झ्याउ र लोपोन्मुख नै उभयचर ठकठकेलगायत रुख भ्यागुतो र ३०० भन्दा बढी प्रजातिका चराको सुमधुर आवाजबाट पोखरी पुग्ने पर्यटकले स्वर्गीय आनन्द लिने गरेका छन् । दुई हजार १२१ मिटरको उचाइमा अवस्थित दुई हेक्टर जलाशयसँगै १२ हेक्टर क्षेत्रमा फैलिएको माईपोखरीमा सुनगोहोरो, लालीगुराँस, सुनाखरी, जडीबुटी, रैथाने माछा, उभयचर, सरिसृप र स्तनधारी प्राणीको अवलोकन गर्न असङ्ख्य पर्यटक वर्षेनी पुग्ने गरेका छन् ।

गाउँपालिकामा श्रम आधारित राहत वितरण

कोरोना भाइरसका कारण न्यून आय भएका र मजदुरलाई राहात गर्दै आएको इलामको माईजोगमाई गाउँपालिकाले श्रममा आधारित राहत कार्यक्रम शुरु गरेको छ । जनतालाई भोकै हुन नदिने र गाउँमा विकास निर्माणका कामलाई नियमित बनाउन श्रममा आधारित राहात कार्यक्रम शुरु गरेको गाउँपालिका अध्यक्ष जितबहादुर राईले बताए।

श्रममा आधारित राहात कार्यक्रम लागू गरी माईजोगमाई गाउँपालिकाले विकास निर्माणको काम शुरु गरेको हो । कारोना रोगको सङ्क्रमणका कारण दैनिक ज्यालादारी गर्ने र रोजगारी गुमाएर घर फर्किएका युवाले राहत पाएपछि अनिवार्य श्रम गर्नुपर्ने निर्णय भएको छ ।

युवालाई गाउँमै रोजगारी दिन दैनिक उपभोग्य सामग्री प्रदानसँगै अनिवार्य श्रम गर्नुपर्ने निर्णय गरी विकास निर्माणका काम गरिँदै आएको छ । लकडाउन लम्बिएसँगै पहिलो चरणको राहत निःशर्त वितरण गरेको गाउँपालिकाले दोस्रो चरणदेखि अनिवार्य श्रम गर्नुपर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भागवत प्रसार रेग्मीले बताए ।

दैनिक उपभोग्य सामग्री पाएका परिवारले अहिले सडकको सोलिङ गर्ने, नाला निर्माणको काम हुँदै आएको स्थानीय खोम खालिङले बताए । स्थानीय १० परिवारलाई पहिलो चरणमा श्रममा आधारित राहत कार्यक्रम लागू गरिएको थियो । पहिलो चरणको कार्यक्रमबाटै जनताको उत्साहपूर्ण सहभागिता रहेको गाउँपालिका अध्यक्ष जितबहादुर राईले बताए । जनता भोकै नराख्ने र विकास निर्माणका काम पनि अघि बढाउन श्रममा आधारित राहत कार्यक्रमलाई चालू आवमा पनि निरन्तरता दिने गाउँपालिकाले जनाएको छ ।