प्रदेश 1

भत्कियो हडिया पुलको पूर्वदक्षिणी भाग

२४ जेठ, भद्रपुर . झापाको मेचीनगर–१० गोलबारीस्थित पूर्वपश्चिम राजमार्गको हडिया पुलको पूर्वदक्षिणी भाग भत्किएको छ । पुलको एक छेउमा दुई मिटर धाजा फाटेर रेलिङ कोल्टे परेको छ । धाजा फाटेको भाग बढ्दै गएको हुँदा बेलैमा मर्मतसम्भार नगरिए राजमार्गको आवागमनमा अवरोध पुग्नसक्ने जोखिम छ ।

स्थानीयवासी टिकेन्द्र खनालले पुल भत्किन लागेको जानकारी सडक विभागलाई सात महिनाअघि नै गराइएको बताए। सो पुल ५७ दशमलब ५० मिटर लामो छ । भत्किएको स्थान जनाउने कुनै सङ्केत पनि राखिएको छैन । पाँच वर्षअघि सोही वडाको लालपानीस्थित पूर्वपश्चिम राजमार्गकै ढुकुरे पुल र विर्तामोडस्थित नयाँ बसपार्कको कल्भर्ट यसरी नै भत्किँदा लामो समय राजमार्ग अवरुद्ध भएको थियो ।

पूर्वपश्चिम राजमार्गसँगै ५० वर्षअघि निर्माण भएका पुल र कल्भर्टहरु धेरै स्थानमा जीर्ण भइसकेका छन् । दमकको लखनपुरमा समेत केही वर्षअघि कल्भर्ट भत्किँदा राजमार्ग लामो समयसम्म अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय दमकका इञ्जीनियर चण्डेश्वर साहले हडिया पुल भत्किन थालेको हुँदा यही असार मसान्तभित्र मर्मतसम्भार गरिसक्ने बताए ।