सुदूरपश्चिम

चोरीमा संलग्न २० पक्राउ

कञ्चनपुर, २४ जेठ । बन्दाबन्दीको बेला चोरी कार्यमा संलग्न कञ्चनपुरमा २० जनालाई प्रहरीले पक्राउ गरेको छ । साइकललगायत अन्य चोरीका कार्यमा संलग्न २० जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो ।

भीमदत्तनगर बजार क्षेत्रमा विभिन्न समयमा चोरी गरेका ४२ थान साइकलसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताएका छन् । चोरी गरिएका साइकल काठमाडौँबाट ल्याएका हौँ भनी भीमदत्तनगर बजार क्षेत्रका मझगाँउ, भासी, सिसैया, विचपुरीलगायतका गाउँमा बेच्दै आएका चार जनालाई साइकलसहित पक्राउ गरिएको उनले बताए ।

उनका अनुसार साइकल चोरीमा संलग्न जितेन्द्र बम, रोशन दमाइ, सन्तोष ओखेडा र नवीन कार्की रहेका छन् । पक्राउ परेका चारै जना भीमदत्त नगरपालिका–१८ बागवाणीका बासिन्दा रहेका छन् । यसैगरी कञ्चनपुरमा विभिन्न समयमा विद्युतीय पानी मोटर चोरी गर्ने, विद्यालयमा चोरी गर्ने, खोका पसलमा चोरी गर्ने तथा ब्रोइलर कुखुरा चोरीमा संलग्न २० जनालाई विभिन्न मितिमा पक्राउ गरी गरिएको उहाँको भनाइ छ ।

चोरी कार्यमा संलग्न भएका पक्राउ परेका सबै जनालाई जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र कैलालीको लम्कीचुहा नगरपालिकालगायत क्षेत्रका छन् ।

खैरो हिरोइनसहित पक्राउ

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ सब्जिमण्डी बस्ने बर्ष ४० का जीवन भट्टलाई लागुऔषध खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको छ । दार्चुला महाकाली नगरपालिका–४ घर भई भीमदत्तनगर बस्दै आएका भट्टलाई प्रहरीले लागुऔषध खरिद बिक्री एवं ओसारपसारको अवस्थामा पक्राउ गरेको हो ।

भट्टबाट १५ ग्राम ३५ मिलीग्राम खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए । भीमदत्त नगरपालिका–१८ सालघारी क्षेत्रबाट पक्राउ परेका भट्टमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको बताइएको छ ।