अन्तर्राष्ट्रिय

फ्लोइडको स्मृतिमा अमेरिकामा देशभरी हजारौँको प्रदर्शन

२३ जेठ, वासिङ्टन । प्रहरी हिरासतमा मारिएका अश्वेत अमेरिकीको स्मृतिमा देशभरी हजारौँले प्रदर्शन गरेका छन् ।

प्रहरीद्वारा हत्या गरिएका जर्ज फ्लोइडमाथि अन्याय भएको भन्दै प्रदर्शनकारीहरुले फ्लोइडलाई न्यायको माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले अमेरिकाका धेरै शहरहरुमा ‘प्ले कार्ड’सहित शान्तिपूर्ण प्रदर्शन गरेको विभिन्न सञ्चार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन् ।

गत मे २५ मा फ्लोइडको हत्या भएपछि देशभर भएका प्रदर्शनहरू हिंसात्मक बनेका थिए यद्यपि आन्दोलन पछिल्ला दिनहरू शान्तिपुर्ण रहेका छन् । फ्लोइडका परिवारजनले आन्दोलनलाई शान्तिपूर्ण गराउन आह्वान गरेपछि देशभरी आन्दोलन शान्तिपूर्ण भएको हो ।

त्यसअघि आन्दोलनका क्रममा दर्जनभन्दा बढीको मृत्यु भइसकेको छ भने करोडौँ अमेरिकी डलर बराबरको भौतिक क्षति भएको छ ।

अमेरिकाको मिनियापोलिसस्थित प्रहरी कार्यालयमा श्वेत प्रहरीले घाँटी च्यापेर ४६ बर्षीय फ्लोइडको हत्या गरेको आरोप लगाइएको छ ।

घाँटी च्यापेर हत्या गरेको भिडियो सार्वजनिक भएपछि आन्दोलन चर्किएको हो भने सरकारले छानविन प्रक्रिया पनि अगाडि बढाएको छ । प्रहरीले हत्या आरोपित प्रहरीलाई बर्खास्त गरेर नियन्त्रणमा लिई छानविन तथा कारबाही शुरु गरेको हो ।

प्रदर्शनकारीले अमेरिकाको प्रहरी र न्याय सेवामा व्यापक परिवर्तनको आवश्यकता रहेकोमा जोड दिँदै आएका छन् ।

देशका न्युयोर्क, वासिङटन डिसी, सिकागो, लस एन्जलसलगायतका ठाउँमा प्रदर्शनकारीले गत एक हप्ताभन्दा लामो समयदेखि प्रदर्शन गर्दै आएका छन् । शुक्रबार लस एन्जलसमा प्रदर्शन गर्नेहरुले बाजा बजाउँदै नारा लगाएका थिए ।

आन्दोलनका क्रममा दश हजराभन्दा बढी प्रदर्शनकारी पक्राउ गरेका छन् भने हजारौँ घाइते भएका छन् ।