समाचार

चन्द्रग्रहण नेपालबाट देखिँदैन पञ्चाङ्ग निर्णायक समिति

२३ जेठ, काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज राति लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने जनाएको छ । जल, अन्तरक्ष एवं पृथ्वीका विभिन्न भागबाट देखिने फरकफरक किसिमका ग्रहण हुन्छन् । ज्येष्ठ शुक्ल पूर्णिमा अर्थात् आज राति देखिने ग्रहण नेपालबाट नदेखिने भएकाले यसलाई बार्नु नपर्ने समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिए ।

“नदेखिने ग्रहणका विषयमा पात्रो (पञ्चाङ्ग) मा सूचना दिइँदैन, अल्पग्रास भएर लाग्ने ग्रहण पनि बार्नुपर्दैन अर्थात् सूतक लाग्दैन भन्ने शास्त्रीय वचन छ”, उनले भने। विसं २०७७ असार ७ गते आषाढ कृष्ण औँसीका दिन लाग्ने सूर्यग्रहण मात्र नेपालबाट देखिने समितिले जनाएको छ ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले भने आज राति सन् २०२० को दोस्रो चन्द्रग्रहण लाग्ने र यो नेपालबाट पनि देखिने जनाएको छ । यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर बिरल छायाँ अर्थात् ‘पेनम्ब्रल’ चन्द्रग्रहण भएको अध्यक्ष सुरेश भट्टराईले बताए ।

यो छायाँजनित ग्रहण भएकाले नेपाल पञ्चाङ्ग निर्णायक समितिले प्रकाशन अनुमति दिएका पात्रोमा उल्लेख नभएको हुनसक्ने सोसाइटीले जनाएको छ । “पौराणिक ज्योतिष शास्त्रमा यस किसिमको ग्रहणको अस्तित्व स्वीकार गरिएको देखिँदैन”, उनले भने । ग्रहण आज राति ११ः३० बजे शुरु भई १ः०९ बजे मध्य हुनेछ । राति २ः४९ बजे सकिने पनि सोसाइटीले जनाएको छ ।

के हो ‘पेनम्ब्रल’ चन्द्रग्रहण रु

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो । यस्तो छायाँ दुई प्रकारका हुन्छन् । सघन तथा विरल । चन्द्रमा पृथ्वीको विरल छायाँमा पर्नु नै ‘पेनम्ब्रल’ चन्द्रग्रहण हो ।

पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी सुनेको सुतक र देखेको ग्रहणमात्र लाग्ने शास्त्रीय मान्यताअनुसार आज राति लाग्ने चन्द्रग्रहणको प्रभाव नेपालमा नपर्ने भएको बताए । यो ग्रहण नेपाल र भारतबाट समेत हो कि जस्तो मात्र देखिने र प्रष्ट नहुने भएकाले यसलाई विरल छायाँ भनिएको पनि उनले बताए ।

नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ सिद्धान्त ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्य नेपालबाट आँखाले नदेखिने ग्रहण आज राति लाग्ने बताए ।