पु.समाचार

समाजसेवी हरिलक्ष्मी गुरुङ द्वारा चौरासीको खर्च वृद्धाश्रमलाई

२३ जेठ, चिप्लेढुङ्गा । पोखरा महानगरपालिका–१६ का समाजसेवी हरिलक्ष्मी गुरुङले आफ्नो चौरासी पूजाको खर्च कटाएर वृद्धाश्रमलाई सहयोग गर्नुभएको छ । कोरोना महामारीले आक्रान्त बनिरहेका अवस्थामा उहाँले हजार चन्द्रमा दर्शनको धार्मिक विधिलाई सामान्य रुपमा सम्पन्न गरेर अन्य खर्चलाई सामाजिक क्षेत्रमा खर्च गरेकोे हो ।
उनले शुक्रबार पोखरा –१४ बाच्छेबुडुवास्थित वात्स्यायन वृद्धाश्रमको प्रवेशद्वार निर्माणका लागि १८ हजारसहित आश्रित वृद्धवद्धालाई लत्ताकपडा र बिहानको भोजन दान गरे। त्यसैगरी उनले पोखरा –९ का ३५ विपन्न परिवारलाई एक बोरा चामल, तेल, नुन र १० सुस्तश्रवणयुक्तलाई दुई हजारको दरले नगद र १४ कुष्ठरोगीलाई दिवा खाजाको सामग्री वितरण गरे । “अहिले कोरोना छ, कतिले खान नपाएको भन्ने सुन्छु, उनीहरुलाई सहयोग गर्न मन लाग्यो, अझ आफ्ना सन्तानबाट टाढा भएकाहरुलाइ धेरै सहयोग र साथ चाहिन्छ, सबैले सबैलाई माया गर्नुपर्छ, सम्मान गर्नुपर्छ भनेर सामाजिक क्षेत्रमा खर्च गरेकी हुँ ”, गुरुङले भने ।
गुरुङकी छोरीले आमाको चाहनानुसार वृद्धाश्रम, कुष्ठरोगी, सुत्केरी, गर्भवती, एकल महिला र सुस्त श्रवणयुक्तलाई खाद्य सामग्रीसहित आवश्यकता हेरेर सहयोग गरिएको बताए । वृद्धाश्रमका अध्यक्ष बोधराज कार्कीले आश्रमलाई सम्झेर सहयोग गरेकामा गुरुङलाई दोसल्ला ओढाएर चौरासी वर्षको शुभकामनासहित धन्यवाद दिए। कार्कीका अनुसार देशविदेशमा रहेका सहयोगी मनबाट आश्रममा सहयोग हुँदै आएको छ । आश्रममा हाल १९ वृद्धवृद्धा छन् ।