स्वास्थ्य

खोपमा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा राष्ट्रपतिको जोड

२३ जेठ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वका सबै नागरिकलाई खोपको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोन्सनले आयोजना गरेको ‘भर्चुअल’ विश्व खोप सम्मेलनलाई भिडियो सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले खोप तथा असङ्क्रमणीकरणका लागि विश्वव्यापी गठबन्धन (जिएभिआई) ले खासगरी स्वास्थ्यसम्बन्धी दिगो विकासका लक्ष्य प्राप्ति तथा स्वास्थ्य क्षेत्रमा गरेको योगदानको सराहना गरेको छ ।

साथै उनले खोप तथा असङ्क्रमणीकरणको महान् उद्देश्य प्राप्तिका निम्ति नवीकृत प्रतिबद्धताका साथ अघि बढ्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान पनि गर्नुभएको छ । खोप कार्यक्रमबाट नेपालले हासिल गरेका उपलब्धिबारे चर्चा गर्दै राष्ट्रपतिले साझा सुख र खुशीका निम्ति विश्वव्यापी रुपमा गरिने प्रयत्नप्रति नेपालको ऐक्यबद्धता प्रकट गरेको छ । कोभिड–१९ विरुद्धको खोप विकासमा संलग्न वैज्ञानिकहरूमा उनले सफलताको शुभकामना पनि व्यक्त गरेको छ ।

स्वस्थ संसार निर्माण तथा खोपको विकासका निम्ति सहायता जुटाउने लक्ष्यका साथ आयोजित उक्त सम्मेलनमा संयुक्त राष्ट्र सङ्घीय निकाय, निजी तथा परोपकारी सङ्घ–संस्था तथा सरकारी प्रतिनिधिसहित ३०० जनाले भाग लिएका परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालसहित विकासोन्मुख देशहरूको खोपमा पहुँच सुधार्न २० वर्षअघि सार्वजनिक–निजी साझेदारीमा जिएभिआई स्थापना गरिएको हो । संयोगवश जिएभिआईको २० औँ वार्षिकोत्सवका अवसरमा उक्त सम्मेलन आयोजना भएको छ ।