लुम्बिनी

कोरोनालाई जित्न सङ्गीत र योगाभ्यास

२३ जेठ, बुटवल । बुटवल उपमहानगरपालिकाको कान्ति माध्यमिक विद्यालयमा हरेक दिन बिहान ६ः०० बजेदेखि धार्मिक भजन र राष्ट्रभक्तिको सुमधुर गीत–सङ्गीत गुञ्जिन्छ । यसरी एकाबिहानै विद्यालयमा गुञ्जिने यो गीत–सङ्गीत विद्यालयको नियमित शैक्षिक गतिविधिअन्तर्गत नभएर यहाँको क्वारेन्टिनमा रहेका मानिसका लागि हो ।

कोभिड–१९ को महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण देशभरका शिक्षण संस्था नयाँ शैक्षिकसत्र शुरु हुने बेलादेखि नै बन्द छन् । कान्ति माध्यमिक विद्यालय बुटवल बजारको मध्य भागमा सञ्चालित यस क्षेत्रको एक उत्कृष्ट विद्यालय हो । बन्दाबन्दीका कारण अहिले उक्त विद्यालयका झण्डै तीन हजार विद्यार्थी विद्यालय आउन पाएका छैनन् ।

विद्यालयमा हरेक बिहान गीत–सङ्गीतका साथ योग, व्यायाम र नृत्यसमेत हुन्छ । कोरोनाविरुद्धको लडाइँ जित्न विद्यालयमा बनाइएको क्वारेन्टिनमा बसेका व्यक्तिका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो ।

बुटवल उपमहानगरपालिका–१२ तामनगरस्थित कोरिया–नेपाल प्राविधिक शिक्षालयको अत्याधुनिक भवन परिसरमा पनि आजभोलि एकाबिहानै साङ्गीतिक माहोल शुरु हुन्छ । हरेक बिहानदेखि विद्यार्थीको प्राविधिक कक्षा सञ्चालन हुने उक्त शिक्षालयमा आजभोलि साङ्गीतिक माहोलकासाथ नियमित योगाभ्यास हुन्छ ।

बुटवल उपमहानगरपालिकाका यी शिक्षण संस्थामा हरेक बिहान हुने सङ्गीतिक वातावरणसहितका योग र व्यायाम कोरोना भाइरससँग लड्ने क्षमता विकास गर्न क्वारेन्टिनमा बसेकाहरुका लागि हो । बुटवल उपमहानगरपालिकाले नगरको वडा नं ४ स्थित कान्ति माध्यमिक विद्यायल, वडा नं १२ को कोरिया नेपाल प्राविधिक शिक्षालयमा क्वारेन्टिन र बुटवल–११ योगीकुटीस्थित एन्फा एकेडेमीको भवनमा आइसोलेशन सेन्टर निर्माण गरेको छ । अहिले एकाबिहानै सङ्गीतिक वातावरणमा चल्ने योग तथा व्यायाम तिनै क्वारेन्टिन र आइसोलेशनमा बसेकाहरुलाई कोरोना भाइरससँग जुध्न सक्ने क्षमता विकास र शरीरलाई स्वस्थ्य बनाइराख्न सञ्चालन गर्ने गरिएको नगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

यहाँका क्वारेन्टिनमा रहेकाको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भन्दै नियमित योगाभ्यास सिकाइएको छ । बुटवलका क्वारेन्टिनमा हाल १२ जिल्लाका १५६ जना रहेका छन् । आइसोलेशन सेन्टरमा भने विभिन्न ठाउँका २१ जना रहेका छन् ।

क्वारेन्टिनमा रहेका अधिकांश रोजगारीका लागि भारतमा रहेका र बन्दाबन्दीपछि भारतबाट फर्किएका नागरिक हुन् । बुटवल उपमहानगरपालिकाले यस्ता नागरिकलाई नेपाल–भारत सिमानाबाट सवारीको व्यवस्थासहित क्वारेन्टिनमा ल्याएर राख्ने व्यवस्था गरेको छ । उनीहरुलाई निश्चित समयसम्म क्वारेन्टिनमा राख्ने र आवश्यक स्वास्थ्य परीक्षणपछि रिपोर्ट नेगेटिभ देखिएमात्र घर पठाउने व्यवस्था गरिएको छ ।

नगरपालिकाले क्वारेन्टिन र आइसोलेशन सेन्टरमा रोगप्रतिरोधी क्षमता बढाउने खालका आयुर्वेदीय औषधिसमेत नियमित वितरण गर्ने गरेको छ । आयुर्वेद औषधिका लागि बुटवल उपमहानगरसँग प्रदेश सरकारको सहकार्य छ । योगका जानकार तथा योग गुरुले क्वारेन्टिन र आइसोलेशन सेन्टरमा नियमित योग सिकाइरहेका छन् ।

क्वारेन्टिनमा रहेकाहरुको रोगप्रतिरोधक क्षमता बढाउन आयुर्वेद चिकित्साको महत्व र स्थानीय जडीबुटीको यथोचित प्रयोगका साथै योग अभ्यास सिकाइएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । क्वारेन्टिनमा राखिएकाहरुलाई तनावबाट मुक्त पार्न र सङ्क्रमण पोजेटिभ देखिएकालाई आयुर्वेद औषधिमार्फत रोगप्रतिरोधी क्षमता बढाउन यो अभियान जारी राखिएको प्रमुख सुवेदीको भनाइ छ । योगलाई शारीरिक तथा मानसिकरुपमा तन्दुरुस्त राख्ने उपयुक्त विधिका रुपमा पनि लिइन्छ ।

योगलाई रोगी व्यक्तिको महत्वपूर्ण चिकित्सा पद्धति पनि मानिन्छ । योगको माध्यमबाट रोगी व्यक्तिले आफूलाई निरोगी, स्वस्थ्य तुल्याउन सक्छन् । स्वस्थ्य व्यक्तिका लागि जीवन पद्धति र योगीहरुका लागि साधना पद्धति मानिन्छ । योगका याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्यागजस्ता आठ प्रकारका आसनमध्येको योगको ध्यानविधि अहिलेको महामारीमा जोसुकैले पनि गर्न जरुरी र आवश्यक देखिएको योगगुरु विष्णुहरि आचार्य (योगीराज) को सुझाव छ ।

क्वारेन्टिन शुरु भएयता बिहानको समयमा योगका गुरु र स्वास्थ्यकर्मीसहित प्रमुख, उपप्रमुख र वडाध्यक्षहरु सामाजिक दूरी कायम गर्दै योगाभ्यासमा सहभागी भएको नगर प्रवक्ता रेग्मीले बताए ।

मस्तिष्कको स्वास्थ्यका लागि योग एक प्राकृतिक औषधि मानिने भएकाले अहिले मनसँग शरीरको जोड कायम राख्ने र त्यसैका आधारमा शारीरिक तथा मानसिक स्वास्थ्यलाई बलियो बनाउने काम भइरहेको योगगुरु आचार्यको भनाइ छ ।

बुटवलको एन्फा एकेडेमीको आइसोलेशन सेन्टरमा आराम गरिरहेका कपिलवस्तुका कोरोना सङ्क्रमित पत्रकार जानु पाण्डे भन्छन्, “शुरु शुरुमा देखिएको डर र त्रास सबै हट्यो अब कोरोनालाई सामान्यरुपमा लिएको छु ।” ६ दिनदेखि बुटवलको कोरोना आइसोलेशन सेन्टरमा रहेका पत्रकार पाण्डेले अरुले पनि कोरोनालाई सामान्यीकरण गर्न जरुरी रहेको सुझाव दिँदै अब समुदायले पनि सजग रहेर दिनचर्या चलाउनुपर्ने बताउछन् ।

बुटवलमा हालसम्म झण्डै एक हजारजनालाई क्वारेन्टिनमा राखिएको छ । उनीहरु सबैको आरडिटी परीक्षण गरिएको छ । आरडिटीमा पोजेटिभ आएकाको पिसिआर परीक्षण गरिएको उपमहानगरका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले जानकारी दिए । परीक्षणमा नेगेटिभ नतिजा आएका ४३० जनाभन्दा धेरैलाई उनीहरुको घर पठाइएको उनले जानकारी दिए । आरडिटी पोजेटिभ आएका ३६ जनाको पिसिआर परीक्षण गरिएको थियो । उनीहरु पनि पिसिआर नतिजा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य शाखा प्रमुख सिंहले बताए ।

बुटवलमा हाल दुईवटा व्यवस्थित क्वारेन्टिन सञ्चालनमा छन् । त्यहाँ रहनेलाई योगाभ्यास गराउने, आयुर्वेद औषधि दिने र खानाको प्रबन्ध पनि उपमहानगरपालिका आफैँले गरेको छ । बुटवल–१२, तामनगरमा रहेको कोरिया–नेपाल प्राविधिक शिक्षालयको भवनमा व्यवस्थित क्वारेन्टिन सञ्चालनमा छ । चैत २० देखि नै शुरु भएको यो क्वारेन्टिनमा १६० श्यया रहेको छ ।

यस्तै बुटवलको कान्ति माविको भवनमा अर्को व्यवस्थित क्वारेन्टिन निर्माण गरिएको छ । यहाँ पनि खानाको प्रबन्ध मिलाइएको छ । क्वारेन्टिन व्यवस्थापनमा खटिएका बुटवल–१२, का अध्यक्ष दुर्गा सुवेदीले सरल परिस्थितिलाई जटिल बनाउनुभन्दा सबैलाई मृत्युबाट बच्नका लागि अपनाउनुपर्ने सचेतना कायम गर्दै कर्म क्षेत्रमा निरन्तरता दिनुपर्ने र यसले कोरोनाको कहरबाट मुक्तिको मार्ग पहिचान गर्ने बताए ।

बुटवलले लकडाउनको अवधिमा पनि स्वास्थ्यकर्मीलाई नियमित खोप सञ्चालनमा खटाएको छ । त्यसरी खोपमा खटिनेलाई पिपिइसहितका स्वास्थ्य सामग्रीको व्यवस्था मिलाइएको छ । यस्तै दीर्घरोगी र समस्यामा परेकालाई घरमै गएर औषधि तथा स्वास्थ्य सामग्री प्रदान गरिएको छ । उपप्रमुख गुमादेवी आचार्य आफैँ स्वास्थ्यकर्मीलाई लिएर त्यस्ता दीर्घरोगी र अपाङ्गता भएका व्यक्तिको घरसम्मै पुगेर स्वास्थ्य सामग्री प्रदान गरेका थिए ।

उपमहानगरले खोप सेवाका अतिरिक्त १९ वटा वडालाई लक्षित गरेर फिवर क्लिनिक सञ्चालन गरेको छ भने क्षयरोगको औषधि वितरण, गर्भवतीको परीक्षण सेवा, परिवार नियोजन सेवा तथा गाउँघर क्लिनिक सञ्चालन गर्दै आएको उपमहानगरका प्रवक्ता रेग्मीको भनाइ छ ।

बुटवल उपमहानगरपालिकाअन्तर्गत रहेका क्वारेन्टिन तथा आइसोलेशनमा स्थानीय औषधियुक्त जडीबुटीको यथोचित प्रयोग गर्नसमेत सिकाइएको छ । आइसोलेशन सेन्टरमा रहेका सङ्क्रमितका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र लुम्बिनी आयुर्वेद चिकित्सालयको सहकार्यमा आयुर्वेद र वैकल्पिक चिकित्साका सामग्री प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए ।

आइसोलेशन सेन्टरमा रहेका २१ जना सङ्क्रमितलाई योगाभ्यासका साथै आयुर्वेदीय औषधि पनि प्रदान गरिएको शर्माले बताए । आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा व्यवस्थापन निर्देशिका अनुसार अश्वगन्धा पाउडर, गुडुची चिया, त्रिकटु चूर्ण तथा च्यावनप्रास अवलेह प्रयोग गराउन शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

केही दिनअघि धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचारका लागि आएका कोरोना सङ्क्रमित रुपन्देहीको कोटहीमाईका युवा करिब एक सातापछि निको भएर घर फर्किए । ती युवा अस्पतालमा नाच्ने र ध्यान गर्ने गर्दै आएको भिडियोसमेत सार्वजनिक भएको थियो ।

नृत्यलाई पनि कोरोना भाइरसको उपचारमा एक सहयोगी विधिका रुपमा लिन सकिन्छ । नृत्य पनि योगअन्तर्गत नै पर्ने योगगुरु आचार्य बताउछन् । कोरोना महामारीका बेला देशका धेरै भूभागमा तनाव उत्पन्न भइरहेका बेला बुटवलले तनाव व्यवस्थापनको प्रभावकारी र उपयुक्त विधिको शुभारम्भ गरेको छ ।