अन्तर्राष्ट्रिय

अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

एजेन्सी । अमेरिकामा रहेको भारतीय दूतावास अगाडि अवस्थित महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ । अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमामा तोडफोड भएको हो ।

प्रतिमामा आक्रमण गरेर तोडफोड गर्ने व्यक्तिको खोजी भइरहेको र पत्ता लगाएर कानुन अनुसार कारबाही गरिने अमेरिकी प्रहरीले जनाएको छ । गत मे महिनाको २५ मा अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मिनियापोलिसमा मृत्यु भएको थियो । अश्वेत ती व्यक्तिलाई श्वेत अमेरिकी प्रहरीले हत्या गरेको आरोप लागेको छ । हत्याको घटना प्रष्ट हुने भिडियो समेत सार्वजनिक भएको छ ।

भिडियो नै सार्वजनिक भएको र सर्वत्र दवावपछि दोषी देखिएका प्रहरीलाई सरकारले सेवाबाट बर्खास्त गरेर कानुनी कारबाही प्रक्रिया शुरु गरिसकेको छ । तर पनि देशभरी विभिन्न स्वरुपमा आन्दोलन भइरहेको छ भने जनधनको समेत क्षति भएको छ । आन्दोलन हिंसात्मक बन्दै गएपछि सरकारले देशका तीन दर्जनभन्दा बढी सहरहरुमा कफ्र्युसमेत लगाउनु परेको छ ।

आन्दोलन भएको एक हप्ताभन्दा बढी भइसकेको छ । गान्धीको प्रतिमामाथिको तोडफोड भने यही जुन २ र ३ तारिखको राति भएको बताइएको छ । तोडफोडका बारेमा अमेरिकास्थित भारतीय दूतावासले अमेरिकी अधिकारीहरुलाई जानकारी गराएको छ ।